कर्णाली युवा किसान संवाद’ कार्यक्रम सम्पन्न



वीरेन्द्रनगर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्यावरणीय कृषि सम्बन्धी ‘कर्णाली युवा किसान संवाद’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पर्यावरणीय कृषि युवा संजाल कर्णाली प्रदेशको आयोजना तथा सामाजिक सेवा अध्ययन केन्द्रको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका युवा किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा युवा किसानहरूले कृषि क्षेत्रमा आफ्ना अनुभवहरू आदानप्रदान गर्नुका साथै खेतीपातीका क्रममा भोग्नुपरेका समस्या, चुनौती र समाधानका उपायहरूका बारेमा घनिभूत छलफल गरेका थिए। साथै, पर्यावरणीय कृषिको महत्व र कर्णाली प्रदेश सरकारका कृषि सम्बन्धी ऐन, नीति तथा कार्यक्रमहरूका विषयमा समेत जानकारी गराइएको थियो।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका माननीय मन्त्री विनोद शाह प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने प्रदेश योजना आयोगका माननीय सदस्य अशोक नाथ योगी विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। पर्यावरणीय कृषि युवा संजाल कर्णाली प्रदेशकी संयोजक सीता साउदको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय पर्यावरणीय कृषि युवा संजालका संयोजक एकेन्द्र देवकोटा र फियान नेपाल सुर्खेतकी कविता रेग्मीले अतिथिको रूपमा आफ्नो धारणा राख्नुभएको थियो। सो अवसरमा विभिन्न गैरसरकारी संघसंस्थाहरूबाट प्रतिनिधित्व गर्दै आउनुभएका अतिथिहरूले समेत कर्णालीको कृषि विकास र युवाहरूको भूमिकाबारे चर्चा गर्नुभएको थियो।

यस संवाद कार्यक्रमलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कर्णाली प्रदेश), वीरेन्द्रनगर नगरपालिका सुर्खेत, कर्णाली विकास हातेमालो सेवा समाज (हातेमालो-नेपाल) जुम्ला, आत्मनिर्भर समाज सुर्खेत र हिमालयन पर्मा कल्चर (एचपिसी) सुर्खेतले समन्वय गरेका थिए। कार्यक्रमको समापनसँगै आयोजकले आगामी २०८२ पौष १५ गते वीरेन्द्रनगर नगरपालिका अगाडिको खुला मञ्चमा १० वटै जिल्लाका किसानहरूको सहभागितामा वृहत् ‘रैथाने खाद्य तथा बीउ प्रदर्शनी मेला’ आयोजना गरिने जानकारी समेत गराएको छ।

तपाईको प्रतिक्रिया