सुर्खेतको भरोसा : मदन भण्डारी राजमार्ग, दुरी होइन सपना जोड्दै

सुर्खेत । कुनै समय सुर्खेतका पूर्व र पश्चिम भेगका बासिन्दाका लागि यात्रा आफैंमा संघर्ष थियो । कच्ची बाटो, वर्षायाममा हिलाम्मे सडक र घण्टौँको यात्राले दैनिकी कठिन बनाएको थियो ।



२०३२ सालमा धुलियाविट गुमी भेडावारी र २०५१ सालमा बड्डीचौर-बावियाचौर-विद्यापुर-गुटु-विजौरा-वेतान-लगाम सडक ट्रर्याक खोलिएको सडक हो । राष्ट्रिय प्राथमिकतामा नपर्दा यी क्षेत्रका नागरिकहरूले वर्षाैदेखि कष्टकर यात्रा गर्न बाध्य थिए ।

जब सुर्खेत जिल्लालाई छोएर राष्ट्रिय प्राथमिकतामा राख्दै नामाकरण गरेर धमाधम सडक निर्माणहुँदा सुर्खेतबासीलाई आशा जगाएको हाे ।  मदन भण्डारी राजमार्ग सुर्खेतका नागरिकका लागि केवल सडक मात्र होइन, विकास र सम्भावनाको नयाँ ढोका बन्दै गएको छ ।

जिल्लाको पूर्वी भाग गुर्भाकोट नगरपालिकाको भेडावारीबाट सुरु हुने मदन भण्डारी राजमार्ग पश्चिम चौकुने गाउँपालिकाको पाल्पाघाट हुँदै सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला प्रवेश गर्छ ।

सुर्खेतकाे मध्य भाग भएर पूर्व–पश्चिम जोड्ने सडकलाई जिल्लाकै ‘लाइफलाइन’ का रूपमा हेरिएको छ । जिल्लाभित्र मात्रै करिब १७७ किलोमिटर फैलिएको यस राजमार्गले भौगोलिक दूरी घटाउँदै नागरिकको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ ।

सुर्खेत पूर्व जाेड्ने धुलियाविट-गुमी-भेडावारी सडक खण्डको बडीपाटीमा कालोपत्रे गरिएको सडक ।

राजमार्ग अन्तर्गत सल्यान सीमाको रैकरदेखि बड्डीचौरसम्म ८३ किलोमिटर तथा बड्डीचौर–लगाम–पाल्पाघाट खण्ड ९४ किलोमिटर सडक पर्छ । यसअघि सुर्खेत पूर्वमा पर्ने बाेटेचाैर-मालारानी-दाङ तुलसीपुर जाेड्ने सडक अहिले घुमाएर सल्यानकाे बालुवासंग्रही-कुपिण्डे-श्रीनगर-बाघचाैरबाट राेल्पा जाेडिएकाे छ ।

रैकर–बोटेचौर–भेडावारी र धुलियाविट–बाँगेशीमल–बड्डीचौर सडक खण्ड यसअघि नै कालोपत्रे भइसकेका छन् । तर बाेटेचाैर-मालारानी-दाङ तुलसीपुर सडक पूर्ण रूपमा कालाेपत्रे भएपछि मध्य नेपालका दाङ-बुटवल-काठमाडाैं जाने सवारीहरू यहीँ सडक भएर गुड्ने गरेका छन् ।

अहिले वीरेन्द्रनगरकाे धुलियाविट खण्डमा काम जारी छ । याे खण्डकाे सडक प्रि-मिक्स विधिबाट कालाेपत्रे गरिएकाे हाे । समयमै विद्युत प्राधिकरण सुर्खेतले पाेल नसारिदिँदा काममा ढिलाइ भएकाे हाे ।  पछिल्लो समय भेडावारी–गुमी–धुलियाविट सडक पनि कालोपत्रे भएपछि पूर्वी सुर्खेतका बासिन्दाले सहज यात्रा गर्न पाएका छन् ।

कालिका, केएस भेरासी जेभीले एक अर्ब तीन करोड लागतमा धुलियाविट–भेडावारी ३५ किलाेमिटर सडक २८ असार २०७८ बाट निर्माण थालेकाे थियाे । यति मात्रै हैन, वीरेन्द्रनगर-छिन्चु भएर कर्णालीका उत्तर-पूर्वका जिल्लाहरूमा सल्यान, रूकुमपश्चिम, जाजरकाेट, डाेल्पा, सुर्खेत पूर्वी भेग तथा दाङ-बुटवल र काठमाडाैं जाने सवारीहरू धुलियाविटबाट मेहलकुना र बाेटेचाैर भएर ओहोरदोहोर गरिरहेका छन् ।

सडक कालोपत्रेसँगै स्थानीय कृषकले उत्पादन गरेको तरकारी, फलफूल र अन्न बजारसम्म पु¥याउन सहज भएको छ । समय र खर्च दुवै घट्दा स्थानीय आर्थिक गतिविधिमा उत्साह थपिएको छ । सडक निर्माणसँगै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरसम्म पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा लिएको चौकुनेका स्थानीय हरी भण्डारी बताउँछन्।

‘हिजो सदरमुकाम पुग्न दिन वित्थ्यो, अहिले यात्रा छिटो र सुरक्षित बनिरहेको छ,’ भण्डारी भन्छन्, ‘सडकले हाम्रो जीवन मात्र जोडेको छैन, हाम्रो आशा, मेहनत र सपना पनि जोडेको छ । पठ्युमा भारी, विरामी बोकेर धुलो र हिलाम्यमा कठिन यात्रा गर्दै छिचोलेको सडक अब कालोपत्रे सडक भइरहँदा सुर्खेतको विकासको नयाँ यात्रा तय गरिरहेको छ ।’

पश्चिम सुर्खेतमा पर्ने खम्बगाडे–गुटु–बल्दे–लगाम सडक निर्माणको चरणमा छ । यो खण्ड दुई प्याकेजमा निर्माण भइरहेको छ । विद्यापुर–गुटु–बल्दे खण्डको करिब २२ किलोमिटरमध्ये ११ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ ।

‘यसअघिकाे घुमाउराे सडक योजना कार्यालयले नयाँ मापदण्डअनुसार सिँधा र छिटाे गन्तव्य पुग्न सकिने खालबाट निर्माण गरेकाे छ,’ भण्डारी भन्छन्,’खासमा राजमार्गकाे मापदण्ड के हाे र सडक कस्ताे बन्नुपर्छ भन्ने अनुभूत हुनेगरी सडक इन्जिनियरिङमा काैशलता आँखै अगाडी देखिँदा उत्साहित थपिदिएकाे छ ।’

बाटाेकाे असहजता त थिया नै तर मदन भण्डारी राजमार्ग याेजना कार्यालयका इन्जिनियरहरूले जति सकिन्छ छाेटाे र सिँधा बाटाे बनाइरहेकाे देख्दा नागरिकहरू नै अचम्मित बनेकाे उनी बताउँछन् ।

१७ फागुन २०७९ देखि सुरु भएको यो आयोजना बानियाँ मोतिदान डी.एस. जेभी, काठमाडौंले विद्यापुर-गुटु-बल्दे सडक निर्माणकाे जिम्मा पाएको हो । आयोजनाको लागत एक अर्ब २१ करोड रुपैयाँ छ ।

निर्माण क्रममा विजौरा क्षेत्रमा करिब १६ सय मिटर सडक खण्डमा देखिएको विवादका कारण केही काम रोकिए पनि बाँकी खण्डको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

सुर्खेत पश्चिमकाे माया तालदेखि पूर्वमा पर्ने बाख्री डाँडामा कालाेपत्रे गरिएकाे सडक ।

विद्यापुर–गुटुखोला तथा गुटुको घुम्तीमोडदेखि विजौरा डाँडासम्म सडक कालोपत्रे गरिसकिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर टोपनारायण पौडेलले जानकारी दिए । विजौरा पश्चिमदेखि बल्देसम्मको सडक कालोपत्रे सुरु गर्ने तयारी अन्तिम चरणमा छ ।

सुर्खेत पश्चिममा निर्माण भइरहेकाे सडक महंगो (अस्फाल्ट) प्रविधिबाट कालोपत्रे गरिएको छ । अस्फाल्टबाट कालोपत्रे गरिँदा सडक बलियो र दीर्घकालिन हुन्छ । निर्माण व्यवसायीलाई आगामी १६ फागुनसम्म काम सक्ने समयसीमा छ ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेत पश्चिम खण्डमा निर्माण गरिरहेको सडकहरु अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्न निर्माण व्यवसायीले मायातालमा राखेको प्लान्ट ।

यद्यपि त्यो मितिअघि नै काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम भइरहेको इन्जिनियर पौडेल बताउँछन । उनी भन्छन्, ‘सडक निर्माण सम्पन्न भएपछि सुर्खेतका दुर्गम बस्तीहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिने छन् ।’

चौर खोला–विद्यापुर असारसम्म सक्ने लक्ष्य
मदन भण्डारी राजमार्गको तेस्रो प्याकेज अन्तर्गत चौर खोला–पलैटे–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० किलोमिटर र बल्दे–लगाम १५ किलोमिटर गरी २५ किलोमिटर सडक निर्माण भइरहेको छ । १४ भदाै २०८४ मा सक्ने लक्ष्य लिएकाे सडक निर्माणका लागि दिवा यती जेभीले १४ भदाै २०८१ मा सम्झाैता गरिएकाे हाे । याे सडककाे लागत १ अर्ब ३६ कराेड छ ।

दिवा यती जेभी काठमाडौंले निर्माण गरिरहेको सडकको बल्दे–लगाम खण्डमा कटिङको काम जारी छ । शीमलखेत नजिकसम्म कटिङ भइरहेको छ । ‘आगामी चैतसम्म लगाम बजार नजिकैसम्म कटिङको काम सकिन्छ,’ इन्जिनियर पौडेल भन्छन्, ‘कटिङ सकिएको क्षेत्रमा नाली, वाल र कल्भर्ट निर्माण भइरहेको छ ।’

चौर खोला–विद्यापुर डाँडासम्मको १० किलोमिटर सडक आगामी असार अगावै कालोपत्रे सक्ने लक्ष्यका साथ बेस विछ्याउने र चत्तुरेदेखि चौर खोलाको खण्डमा कटिङ लगायतका काम भइरहेको उनी बताउँछन् ।

राजमार्गको सुर्खेत खण्डमा २३ ओटा पक्की पुल निर्माण गर्नुपर्नेछ । यीमध्य १३ पुल सुर्खेत पूर्व र १० वटा सुर्खेत पश्चिम खण्डमा पर्दछन् । हालसम्म १६ पक्की पुल निर्माण सम्पन्न गरेर सवारी सञ्चालन भइसकेका छन् । सुर्खेत पूर्वी खण्डमा १३ वटा पक्की पुल ४० कराेड ४५ लाख लागतमा निर्माण गरिएकाे छ ।

भुगुती, काली, खत्री, गुर्जी, बेतनी, खहरे, राते, बेवारे, कागते, थाेत्री, गंगटे र रानीमत्ते खोलामा नयाँ पुल निर्माण गरिएको छ । यी पुलहरू केएस कन्ट्रक्शन र हिम सगरमाथाले निर्माण गरेका हुन् ।

विद्यापुर, गुटु र ब्यूरेनी खोलामा पुल निर्माणको काम सकिएकाे छ । विद्यापुर खाेलाकाे पुल तीन करोड ४६ लाख, गुटु खाेलाकाे पुल पाँच करोड र ब्यूरेनी खाेलाकाे पुल तीन करोड ६० लाख लागतमा निर्माण गरिएकाे हाे ।

पञ्चपुरी नगरपालिकाको स्यालीघाट, चत्तुरे, बरैचे, सलाम दुवे खोला, चौकुने गाउँपालिकाको सिमल खेत र लेमु खोलामा पक्की पुल निर्माण गर्नुपर्नेछ । ६ वटा पक्की पुलको विस्तृत प्रतिवेदन परियोजना र वातावरणीय प्रभाव मूल्यांकन कार्यालयले तयार गरेर मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयमा पठाइसकेको छ ।

प्रतिवेदन आउन बाँकी रहेकाले त्यसपछि डिजाइनको प्रक्रियामा जानेछ । डोटी र सुर्खेत जोड्ने चौकुने गाउँपालिका–१ पाल्पाघाटस्थित कर्णाली नदीमा पक्की पुल निर्माण गर्न कार्यालयले प्रस्ताव पेश गर्न प्रक्रिया थालेको छ । पाल्पाघाटमा पक्की पुल निर्माणपछि राजमार्ग सुदूरपश्चिमको डोटी जोडिनेछ ।

डोटीको पिपिनगर जोड्ने लक्ष्य राखिएको सडकको डोटी खण्डको झण्डै ४४ किलोमिटर नयाँ बनाउनुपर्नेछ । डोटी खण्डमा ठुलीघाट किनारै किनार लैजाने की मुलेचौरहुँदै बाघछेडाबाट विपिनगर जोड्ने भन्ने अझै टुंगाे लागेको छैन् ।

डोटी र सुर्खेतस्थित कर्णाली नदीमा पर्ने पाल्पाघाट पुल निर्माण र डोटी खण्डमा सडक बनेमा सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी तथा बाजुरा र अछामका पश्चिम र कैलालीका उत्तरी भेगका नागरिकहरुलाई सुर्खेत भएर दाङ, बुटवल, काठमाडौं लगायतका शहर पुग्न छोटो हुनेछ ।

मदन भण्डारी राजमार्गले केवल सडक निर्माण मात्र नभई पश्चिम सुर्खेतका गाउँ–बस्तीमा जीवनको दूरी घटाउँदै, अवसर र आशाको बाटो पनि खोलेको छ। पहिले घण्टौँ लाग्ने यात्रा अब छिटो र सुरक्षित भएको छ, जसले स्थानीय बासिन्दाको दैनिकी, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा नयाँ गति थपेको छ।

तपाईको प्रतिक्रिया