कर्णालीमा ‘शसक्त महिला समृद्ध नेपाल’ कार्यक्रमको समीक्षा: रोजगारी र सहायता केन्द्रमा जोड



नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशको आयोजनामा ‘शसक्त महिला समृद्ध नेपाल’ (EWPN) कार्यक्रम अन्तर्गत हालसम्म सञ्चालित गतिविधिहरूको समीक्षा तथा रिभ्यु बैठक सम्पन्न भएको छ। महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीको अध्यक्षतामा वीरेन्द्रनगरमा उक्त बैठक सम्पन्न भएको हो।

प्रगति र चुनौतीको समीक्षा: कार्यक्रमका प्रदेश संयोजक लोक प्रसाद लामिछानेले हालसम्म भएका गतिविधि, हासिल भएका उपलब्धि र कार्यक्षेत्रमा देखिएका चुनौतीहरूका बारेमा विस्तृत प्रस्तुति राख्नुभएको थियो।

सहायता संयन्त्रको विस्तार: महासंघका सहायक निर्देशक हरि पौडेलले हेल्पडेस्क सेवा, गुनासो सुनुवाइ संयन्त्र र केयर सेन्टर स्थापनाका बारेमा जानकारी दिनुभयो। उहाँले सीप र तालिमलाई प्रत्यक्ष रूपमा रोजगारीसँग जोड्न ‘रेफरल’ प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

सरोकारवालाको सुझाव: बैठकमा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत कृष्ण रोकाया र आईएलओ (ILO) की प्रतिनिधि सृजना ढकालले कार्यक्रमको प्रभावकारिता र आगामी कार्यदिशाबारे आफ्ना धारणा राख्नुभएको थियो।

अध्यक्ष पदमबहादुर शाहीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको एजेन्डा प्रस्तुत गर्नुभएको थियो। उहाँले कर्णालीका महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन महासंघले स्थानीय सरकार र विकास साझेदारसँग समन्वय गरिरहेको बताउनुभयो।

बैठकको समापन गर्दै महासंघका उपाध्यक्ष हर्ष विक्रम खड्काले सबै सरोकारवाला पक्षहरूको सहकार्य र समन्वयबाट मात्रै यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्राप्त सुझावहरूलाई आत्मसात गर्दै आगामी दिनमा कार्यक्रमलाई थप परिष्कृत बनाउने प्रतिबद्धता समेत जनाउनुभयो।

बैठकमा विभिन्न जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, प्रदेश सरकारका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि र विभिन्न विकास साझेदार संघ–संस्थाका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया