सुर्खेत । बालबिबाह बिरुद्धको प्रादेशिक रणनैतिक योजना २०८२ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरिएको छ । बालबिबाह बिरुद्धको प्रादेशिक रणनैतिक योजनालाइ कर्णलीमा प्रभावकारी कार्यान्वयन गर्न, सरोकारवालाको थप भूमिकासँगै उपलब्धिमूलक बनाउने उदेश्यले छलफल गरिएको हो ।
सरोकारवालाले आफ्नो भूमिका र जिम्मेवारी पूरा गरे बालविवाह न्युनिकरण गर्न र बालबालिकाको अधिकार सुनिश्चित गर्न सकिने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । कार्यक्रममा रणनैतिक योजना सम्बन्धी प्रस्तुतीकरण, सहजीकरण र छलफलमार्फत बालबालिकाको अधिकार र समाज परिवर्तनका उपायमाथि जानकारी गराइएको थियो ।


सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बालअधिकार क्षेत्रका विभिन्न कार्यक्रमका लागि बजेट सुनिश्चित गरी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले आवश्यक समन्वय र साझेदारीमा योजनाहरू लागू गर्न सकिने बताए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक माधव श्रेष्ठले बालबालिकाको दीर्घकालीन व्यवस्थापनमा स्रोत साधनको अभावले चुनौती बनेको उल्लेख गरे

अधिवक्ता गीता कोइराला र बालविवाहविरुद्धको साझा अभियान सञ्जाल कर्णाली प्रदेशकी अध्यक्ष पवित्रा शाहीले बालविवाह न्युनिकरणका उपाय र रणनीतिक योजना कार्यान्वयनबारे आफ्ना धारणा राखेकी थिइन् ।
सामाजिक मन्त्रालयको समन्वय, युनिसेफ र एइआइएनको आर्थिक सहयोगमा सोसेक नेपालले कार्यक्रमकाे आयोजना गरेको हो।

नेपाल कर्म । ४ पुष २०८२, शुक्रबार ०८:५२