वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा



सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकास्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष दमाईसहित सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

वन उपभोक्ता समूहका अध्यक्ष दमाई र कोषाध्यक्ष धनसरी रानाले नक्कली भरपाई बनाएर वन हेरालु राखेको आरोपपत्रमा उल्लेख छ ।

उपभोक्ता समूहका पदाधिकारीहरूले डढेलो नियन्त्रणका लागि मानिस खटाएको र वन हेरालु राखेको भन्दै नक्कली भरपाई बनाएर भ्रष्टाचार गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

लेखापरीक्षक भोजराज पाण्डेले बदनियतपूर्वक कारोबार नै नभएको शीर्षकमा खर्च देखाई गलत लेखापरीक्षण प्रतिवेदन दिएको आरोपपत्रमा उल्लेख छ ।

अध्यक्ष दमाई र कोषाध्यक्ष धनसरी रानाविरुद्ध नौं लाख ६५ हजार ८३७ रुपैयाँ र सचिव रामकुमारी रानाविरुद्ध आठ लाख ४० हजार ८७३ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया