
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरस्थित घन्टाघर क्षेत्रमा आज ‘डिजिटल हिंसा’ (TFGBV) विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित कर्णाली प्रदेशका युवाहरूले व्यस्त सडकलाई खुला मञ्चका रूपमा उपयोग गर्दै डिजिटल सुरक्षाको महत्त्वबारे सन्देश प्रवाह गरेका हुन्।
सडक नाटकले सामाजिक सञ्जालमा बढ्दै गएको दुरुपयोग, लैङ्गिक आधारमा हुने दुराचार, अनलाइन ट्रोलिङ तथा मनोवैज्ञानिक हिंसाबाट कसरी जोगिने भन्ने विषयमा सरल तर प्रभावकारी शैलीमा आम नागरिकलाई सन्देश दिएको आयोजकहरूको भनाइ छ। युवापुस्तामाझ डिजिटल संवेदनशीलता र जिम्मेवार अनलाइन व्यवहारबारे सचेतना फैलाउने उद्देश्यले गरिएको यो प्रस्तुति ५०० भन्दा बढी दर्शकले अवलोकन गरेका थिए।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने जगरण अभियानको अवसरमा ‘सशक्त महिला समृद्ध नेपाल’ (EWPN) कार्यक्रमअन्तर्गत भएको यो विशेष प्रस्तुति मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (CMC), सोसेक नेपाल, वीरेन्द्रनगर नगरपालिका तथा कर्णाली प्रदेश सरकारको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रम युरोपियन युनियन (EU) तथा संयुक्त राष्ट्रसंघका निकायहरूको संयुक्त पहलमा अघि बढाइएको परियोजनासँग समन्वयित रहेको वीरेन्द्रनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शरला रेग्मीले जानकारी दिनु भयो।
सडक नाटकले जिल्ला प्रहरी कार्यालय, प्रदेश अस्पताल OCMC, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, पत्रकार महासंघ सुर्खेतलगायत सरोकारवाला संस्थाहरूको उपस्थिति र ऐक्यबद्धताबाट थप सशक्त बनेको थियो। आयोजकहरूका अनुसार यसले डिजिटल हिंसा अन्त्यका लागि युवादेखि न्याय क्षेत्रसम्मको साझा प्रतिवद्धता स्पष्ट रूपमा उजागर गरेको छ।

“हरेक स्क्रिन र प्रोफाइल तस्वीर पछाडि भावनासहितको एक वास्तविक मान्छे हुन्छ। अनलाइन हिंसा सहनु पर्दैन—आवाज उठाऔँ, पीडितको साथ दिऔँ, र जिम्मेवार डिजिटल नागरिक बनौँ। सुरक्षित अनलाइन, सुरक्षित अफलाइन,” भन्ने आत्मिक सन्देशमा आधारित यो नाटकले दर्शकलाई मर्मस्पर्शी रूपमा छोएको थियो।
कार्यक्रमपछि आयोजकहरूले कर्णालीका अन्य स्थानीय तहहरूमा पनि यस्तै सडक नाटक, संवाद कार्यक्रम र युवा–केन्द्रित डिजिटल सुरक्षा अभियान विस्तार गर्दै लैङ्गिक तथा डिजिटल हिंसा अन्त्यका प्रयासलाई अझ सुदृढ बनाइने जनाएका छन्।



नेपाल कर्म । १८ मंसिर २०८२, बिहीबार २१:४६