
सुर्खेत । कर्णाली प्रदेशमा हुलाक सेवालाई छिटो छरितो, भरपर्दो र व्यवस्थित बनाई प्रभावकारी सेवा प्रवाह गर्न अनुगमन गरिएको छ । हुलाक निर्देशनालय सुर्खेतले निर्देशनालय अन्तर्गतका भेरी करिडेरमा रहेका जाजरकोट, डेल्पा, रुकुम पश्चिम तथा सल्यान जिल्ला हुलाक कार्यालय र ती जिल्लास्थित स्थानीय तहमा रहेका हुलाक कार्यालयहरुको अनुगमन तथा निरीक्षण गरेको हो ।
जाजरकोट जिल्ला हुलाक कार्यालयहरुको अनुगमन गर्ने क्रममा जिल्ला हुलाक कार्यालय जाजरकोट स्थानीय हुलाक नलगाड नगपालिका, दल्ली र सटही काउन्टर शिवालय गाउँपालिका छेडागाडको स्थलगत अनुगमन गरिएको थियो।यसैक्रममा भूकम्पबाट क्षति भइ पुनः निर्माणको क्रममा रहेको जिल्ला हुलाक कार्यालय जाजरकोटको कार्यालय भवनको अनुगमनसमेत गरिएको थियो । अनुगमन टोलीले जाजरकोट स्थित विभिन्न सञ्चार गृहका सञ्चारकर्मीहरुसँग छोटो अन्तरक्रिया पनि गरिएको थियो ।
डोल्पास्थित हुलाकहरुको अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय डोल्पा र हुलाक कार्यालय त्रिपुरासुन्दरी नगरपालिका तथा जिल्ला हुलाक कार्यालय रुकुम (पश्चिम) र अन्तर्गतका हुलाककार्यालय आठवीसकोट नगरपालिका राडीज्युला, हुलाक कार्याललय सानीभेरी गाउँपालिका सिम्ली, हुलाक कार्यालय चौरजहारी नगरपालिकाको सेवा प्रवाह, कार्यालयको भौतिक संरचना डाँकरेखा र जनशक्तिका अवस्थाका बारेमा स्थलगत अनुगमन तथा छलफल गरिएको थियो ।

सल्यानस्थित हुलाक कार्यालयहरुको अनुगमन तथा निरीक्षणका क्रममा जिल्ला हुलाक कार्यालय सल्यान र अन हुलाक कार्यालय वनगाडकुभिण्डे नगरपालिका देवस्थल (सल्लीबजार), हुलाक कार्यालय कुमाख गाउँपालिका रागेचौर, हुलाक कार्यालय सिद्धकुमाख गाउँपालिका ढौरचौर र हुलाक कार्यालय बागचौर नगरपालिकाको समेत अनुगमन तथा निरीक्षण गरेको छ । यसै क्रममा जिल्ला हुलाक कार्यालय रुकुम पूर्व रुकुमकोटमा डाँक आदान प्रदानका विषयमा समन्वय तथा छलफल बैंठक र अन्तर्क्रियासमेत गरिएको थियो ।

अनुगमनका क्रममा हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमिलाई जिवन्त राख्दै विश्वजगतले वर्तमान समयमा विकास गरेको सूचना प्रविधिलाई हुलाक सेवामा भित्र्याउन आवश्यक पर्ने पूर्वाधारबारेमा छलफल तथा अनुभव आदान प्रदान गरिएको थियो ।
सोही क्रममा उल्लेखित कार्यालयहरुको जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधनको अवस्था, भवनको अवस्था, सेवा प्रवाह, जनगुनासो, डाँक ढुवानी, सरकारी तथा गैरसरकारी निकायहरुसँगको समन्वयका विषयमा अनुगमन चेकजाँच तथा अन्तर्क्रिया गरिएको थियो ।
छलफलबाट प्राप्त राय सुझाव र निष्कर्षलाई आत्मसात् गर्दै टोलीले सम्बन्धित कार्यालयहरुलाई हुलाक सेवालाई विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।हुलाकप्रतिको जनविश्वास कायम राख्न, नागरिकसँग नजिक हुन तथा डाँक ढुवानी कार्यलाई व्यवस्थित गर्न सुझाव दिइएको छ । त्यसैगरी जिल्ला तथा स्थानीय हुलाक कार्यालयहरुलाई सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी हाल हुलाकले प्रदान गर्ने सेवाका बारेमा प्रचार प्रसार गरी व्यापक मात्रामा जनचेतना विस्तार गर्न निर्देशन दिएको छ । अनुगमन टोलीमा हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डे, अनुगमन शाखाका प्रमुख नारायणप्रसाद तिमिल्सेनालगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल कर्म । ६ मंसिर २०८२, शनिबार ११:४२