बड्डीचौर– खम्बगाडे र चिसापानी–कुइने सडक यहीँ वर्ष सक्ने झिनो आशा

सुर्खेत। बड्डीचौर–खम्बगाडे सडक निर्माण आरम्भ थालिएको तीन वर्ष वित्यो । आम बुझाईमा सडक अलपत्र पर्नुको मुख्य दोष निर्माण व्यवसायीलाई थुपारिदै आइएको छ । तर सडक निर्माणका लागि गरिनु पर्ने पूर्व तयारीविनै काम थाल्दा बड्डीचौर–खम्बगाडे १३ किलोमिटर सडक खण्ड सुस्ताएको हो । संघीय सरकार मातहतको सडक हुन, विद्युत पोल तथा रुख कटानको अल्झन नसल्टाउनु, बड्डीचौर बजार, जनज्योति स्कुल र पाइप डाँडाको विवाद समाधान नहुनु मुख्य बाधक हुन् ।



क्षेत्राधिकार बाहिरको सडक निर्माण गर्न प्रदेश सरकार कस्सिनुले सुर्खेत पश्चिमका नागरिकले पीडादायी यात्रा गर्नु परेको छ । असार ०७९ मै ठेक्का आह्वान गरेर तत्कालिन सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले सडक निर्माणको शिलान्यास गरेका थिए ।

बड्डीचाैर-खम्बगाडे सडक बायाँ र चिसापानी-कइने जाेड्ने सडक दायाँ ।

सडक शिलान्यास गरिएको तीन वर्षपछि संघीय सरकारले सडकको निर्माणका गर्न अनुमति दिएसँगै रुख कटानको अल्झन सल्टिएको हो । सडकमा पर्ने ८६४ वटा विद्युतका पोल हटाउन र रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । ।

‘निर्माण व्यवसायीकै कारण सडक अलपत्र भयो भन्नु राम्रो हैन्,’ अनक जयदेवी जेभीका इन्जिनियर शंकर रावतले भने, ‘लगभग रुखको समस्या समाधान भएको छ । बड्डीचौर बजार, स्कुल र पाइप डाँडामा विवाद छ । त्यो विवाद नसल्टिए पनि निर्माणको गति बढाउछौं ।’ रावतकाअनुसार यो वर्ष नागरिकलाई साच्चै निर्माण व्यवसायीले काम गर्नेरहेछ भन्नेगरी दुई तीन महिनामै कामबाट देखिनेछ ।

सुर्खेत पश्चिमको बावियाचौर–विद्यापुर–गुटुहुँदै लगाम जोड्ने सडक २०५१ सालमै ट्«याक खोलिएको हो । सुर्खेत पश्चिम जोड्ने मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको शुन्य विन्दु बड्डीचौरलाई मानेर काम थालिएको हो । पहिलो खण्डमा बड्डीचौरदेखी कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ ।

जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि अनकले निर्माणको पूरै जिम्मेवारी लिएको छ । बड्डीचौर बजारदेखि गिभिनेसम्म झण्डै ६ किलोमिटर र खम्बगाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्ट वाल र कल्भर्ट निर्माण यसअघि नै सकिएको छ ।

‘रुख कटान लगत्तै निर्माणको गति बढ्छ,’ पूर्वाधार विकास निर्देशनालयका प्रमुख सूर्यबहादुर शाही भन्छन्, ‘अल्झनहरु सबै टुंगिएकाले आगामी असारसम्म कालोपत्रे सक्नेगरी समन्वय गरिरहेका छौं ।’

खम्बगाडे–बाबियाचौर–विद्यापुर डाँडा जोड्ने १० किलोमिटर सडक कालोपत्रे सक्ने अन्तिम चरणमा छ । १८ करोड लागत रहेको सडक भदौ २०७९ मा ठेक्का सम्झौता गरिएको हो । सडक निर्माणको जिम्मा खड्का कन्ट्रक्शन बाँकेले लिएको छ ।

चैत २०८१ मा सम्पन्न गर्नुपर्ने सडक रुखकै कारण निर्माणमा ढिलाइ भएको थियो । स्थानीयले सडकमा पर्ने झण्डै ६० रुख काटिदिएपछि मंसिरसम्ममा कालोपत्रे सक्ने लक्ष्य लिएको सडक डिभिजन सुर्खेतले जानकारी दिएको छ ।

यता सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्ग हो बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक । सुदूपश्चिमकै अछाम, बाजुराबाट तराई पुग्न होस् वा पहाड पुग्ने छोटो मार्गपनि यहीँ हो । चिसापानीबाट कैलालीकै कुइनेसम्म १२ किलोमिटर सडक हो ।

सात किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले ठेक्का व्यवस्थापन गरिसकेको छ । कालोपत्रेका लागि १३ करोडको लागतमा दिव्य ज्योति शाही लम्कीले जिम्मा लिएको छ ।

चिसापानी क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे छ । बाँकी क्षेत्रमा रुख र पोलका कारण काममा ढिलाइ भएको हो । अहिले रुख कटान सकिएकाले यसै वर्ष कालोपत्रे गर्नेगरी काम भइरहेको सडक डिभिजन कञ्चनपुरका प्रमुख सिनियर डिभिजन इन्जिनियर राजेशकुमार यादवले जानकारी दिए ।

कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल सञ्चालनमा आएपछि त्रिदेशीय जोड्ने सडक छिटो निर्माण गर्न सरकारलाई दवाव बढेको हो ।

यहीँ सडक भएर कर्णालीका सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला, हुम्लाका नागरिकलाई सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जान र फर्किन छोटो हुन्छ । कर्णाली राजमार्गको जमुनाह–हिल्सा त्रिदेशीय सडक जोडिएको छ ।

बावियाचौर–जंगलघाट सडक अझै स्तरोन्नति नभए तत्कालका लागि बड्डीचौरबाट कर्णाली राजमार्ग भएर यात्रा गर्न सहज हुनेछ । चिसापानीबाट बड्डीचौरसम्मको दुरी ४८ किलोमिटर छ ।

हिउँदको समयमा कैलालीबाट अछाम जाने दर्जन बढी सवारीहरु चिसापानीबाट सुर्खेत–दैलेख भएर अछामको कमलबजार र मंगलसैन पुग्ने गरेका छन् । कैलालीको चिसापानीबाट कोहलपुर–सुर्खेतहुँदै बाहिरिन र भित्रनु पर्छ ।

कैलालीबाट अछाम पुग्न मात्रै चिसापानी–कोहलपुर ७७, कोहलपुर–वीरेन्द्रनगर ९० र वीरेन्द्रनगर–बेलखेतहुँदै मंगलसेन अछाम १५९ किलोमिटर गरी ३२६ किलोमिटर दुरी तय गर्नुपर्ने अवस्थामा छ ।

बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक निर्माण सम्पन्न भए कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला, जुम्ला र सुदूर पश्चिमको कैलाली, कञ्चनपुर, बाजुरा तथा अछाम आवतजावत गर्ने छोटो मार्ग बन्नेछ ।

पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिका अछामको सीमानामा पर्ने जंगलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि ८ साउन २०७८ मै सम्झौता गरिएको हो ।

१० कार्तिक २०८३ मा कर्णाली नदीमा पुक्की पुल निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ । १६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रा।लि। काठमाडौंले लिएको छ ।

तपाईको प्रतिक्रिया