प्रधानमन्त्रीले लिए भेरी-बबई डाइभर्सनको भौतिक प्रगतिकाे जानकारी

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेरी-बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिएका छन्। एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले आज पहिलो पटक आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिएका हुन्।



भेरी-बबई डाइभर्सन आयोजना नदी पथान्तरण आयोजना हाे । जुन ‘टनेल बोरिङ मेशिन’ (टिबिएम)को प्रयोग गरिएको छ । भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रिया पूरा भए पनि हाल बाँधस्थल, विद्युत्गृहलगायतको निर्माण जारी छ । विसं २०७७ मा नै आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काम भने अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन ।

आयोजनाको समग्र अवस्थाबारेमा आयोजना प्रमुख दिनेश भट्टले जानकारी गराउँदै कोरोना कहरलगायतले अपेक्षित काम हुन नसकेको जानकारी गराए। उनले परामर्शदाता कम्पनीको अभावमा काममा केही कठिनाइ भएको बताए।

भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सो आयोजना सुरु गरिएको हो। आयोजनाबाट ४६ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य छ। बाँध निर्माणको काम अपेक्षितरुपमा अगाडि बढेको भए पनि विद्युत्गृह निर्माण अपेक्षित प्रगति हुन नसकेको सो आयोजनालाई गति दिन सरकारले अधिकतम प्रयास गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको सुरुङ निर्माण तोकिएको समयभन्दा अगावै सम्पन्न भए पनि अन्य काममा ढिलाइ हुँदा समस्या देखिएकाले तत्काल समाधानको पहल जरुरी रहेको बताए।प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन आयोजनामा सकेसम्म प्रत्यक्ष रुपमा नै नभए एक्सन रुमबाटै अनुगमन निरीक्षण गरी समस्या समाधान गर्ने र विकासको गतिलाई अगाडि बढाउने बताउँदै आएका छन्।

सो अवसरमा सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको नियमितरुपमा एक्सन रुमबाटै भए पनि अनुमगन, निरीक्षण तथा आवश्यक निर्देशन दिने तथा समस्या समाधान गर्ने बताए।

तपाईको प्रतिक्रिया