निजामती कर्मचारी संगठनद्वारा रोकाय परिवारलाई सहयाेग

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकास्थित देशी खोलामा असोज २० गते भएको जीप दुर्घटनामा परी सिमिकोट गाउँपालिका–८ का वडा सचिव तथा नेपाल निजामती कर्मचारी संगठन हुम्लाका अध्यक्ष महेन्द्र रोकायकी श्रीमती स्याँडा स्वास्थ्य चौकीकी अनमी बसन्ती बुढा र कान्छी छोरी जागृती रोकायको निधन भएको छ ।



सोही दुर्घटनामा घाइते भएका अध्यक्ष रोकायलाई हेलिकप्टरमार्फत उद्दार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । यस दुःखद् घडीमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिका अध्यक्ष भवानी न्यौपाने दाहाल स्वयं सुर्खेत आइपुगी अध्यक्ष रोकायलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन ।

उनले संगठन सधैं दुःख–सुखमा साथमा रहेको भन्दै रोकायलाई उच्च मनोबल बनाइराख्न हौसला प्रदान गरेकी थिइन। संगठनले कल्याण कोष बापतको राहत रकम हस्तान्तरण पनि गरेको छ ।

संगठन सदस्यका रूपमा मृतक बसन्ती बुढाले पाउने १ लाख ५० हजार र घाइते महेन्द्र रोकायले पाउने २५ हजार गरी जम्मा १ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको निजामती कर्मचारी संगठन कर्णाली प्रदेशका महासचिव प्रकाश शर्माले जानकारी दिए ।

सो अवसरमा केन्द्रीय अध्यक्षको उपस्थितिमा संगठनको वर्तमान अवस्था, विषम परिस्थितिमा संगठनको भूमिका र आगामी कार्ययोजना सम्बन्धी व्यापक छलफल र अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

यस दुःखद् क्षणमा संगठनका अध्यक्ष दाहाल स्वयं उपस्थित भई दिनुभएको माया, हौसला र सद्भावप्रति नेपाल निजामती कर्मचारी संगठन, कर्णाली प्रदेश कार्य समितिले हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया