कर्णाली प्रदेश समाज जापानद्वारा बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग


सुर्खेत । नेपालीहरूको महान चाड दसैँको अवसरमा सुर्खेतका बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका कर्णालीका युवाहरुको साझा संस्था कर्णाली प्रदेश समाज जापानले सुर्खेतस्थित बादी सरोकार मञ्चमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो ।



केही समयअघि कर्णाली प्रदेश समाज जापानले जापानमा आयोजना गरेको ‘कर्णाली सांस्कृतिक साँझ’बाट संकलित रकमबाट खाद्यान्न सहयोग गरिएको हो । उक्त खाद्य सामग्री नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत बादी सरोकार मञ्चलाई हस्तान्तरण गरिएको थियो ।

कर्णाली सांस्कृतिक साँझबाट संकलन भएको रकमबाट खरिद गरिएको खाद्य सामग्री नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले हस्तान्तरण गरेका थिए । खाद्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष शर्माले राज्यको उपेक्षामा परेको बादी समुदायका बालबालिकालाई प्रवासीहरुले गरेको सहयोगको प्रशंसा गरे । उनले सिमान्तकृत समुदायका बालबालिकालाई गरिएको सहयोगले थोरै भएपनि उनीहरुलाई राहत मिल्ने बताए ।

विपन्न वर्गप्रतिको दायित्व पुरा गर्न राज्य असफल रहेको अवस्थामा प्रवासमा रहेका कर्णालीका युवाहरुले जुटाएको परोपकारी कामले निरन्तरता पाउनेमा अध्यक्ष शर्माको अपेक्षा थियो । बादी सरोकार मञ्चको आश्रयमा हाल एक सय १० जना वालबालिकाहरु अध्ययन गरिरहेका छन् ।

खाद्य सामग्री ग्रहण गर्दै मञ्चका प्रतिनिधि प्रकाश बादीले सहयोगी निकाय कर्णाली प्रदेश समाज जापानप्रति धन्यवाद ज्ञापन गरे ।

कर्णाली प्रदेश समाज जापानका संस्थापक अध्यक्ष कृष्ण शाहीले आफ्नो पाँच बर्षेकार्यकालमा गरेका धेरै सामाजिक कार्यहरुमध्य यो अन्तिम काम भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया