
सुर्खेत । जेन–जी समूहले गरेको आन्दोलनका क्रममा गत भदौ २४ गते सुर्खेतका कार्यालयहरुमा भएको क्षतिको अनुमानित मूल्य निकालिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा वीरेन्द्रनगरमा भएका केही सरकारी कार्यालयमा भएको क्षतिको अनुमानित मूल्य निकालेर जिल्ला प्रशासनलाई बुझाईएको छ । सम्बन्धित कार्यालय प्रमुखहरुले प्रहरीको रोहबरमा क्षतिको अनुमानित मूल्य निकालेका हुन् ।

हालसम्म २४ वटा कार्यालयहरुको क्षतिको मूल्याङ्कन गरिएको छ । संघअन्तर्गतका ६, प्रदेशका ५, स्थानीय तहका ११ वटा (वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र १२ वटा वडा कार्यालय) कार्यालयले क्षतिको मूल्याङ्कन बुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार ६ वटा संघीय कार्यालय र ५ वटा प्रदेश कार्यालयहरुले क्षतिको मूल्याङ्कन गरी प्रशासनलाई पठाईएको हो । प्रशासनले नियमित क्षतिको मूल्याङ्कन प्रतिवेदन सङ्कलन गरिरहेको छ । संघ अन्तर्गतका जिल्ला समन्वय समिति, सडक डिभिजन, भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना, नापी, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र उच्च सरकारी वकिल कार्यालयले आफ्नो कार्यालयमा आन्दोलनका बेला भएको क्षतिको मूल्याङ्कन गरी पठाएका छन् ।

यी कार्यालयले पठाएको मूल्याङ्कन अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा भवन, फर्निचर, कम्प्यूटर लगायतका सामान क्षति भएका छन् । यसबाट ४० लाख तीन हजार बराबरको क्षति भएको समन्वय समितिको कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयको २० लाख चार हजार बराबरको एउटा सवारी साधनमा क्षति पुगेको छ । भेरी करिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको टाटा सफारी गाडीमा ६० हजार रुपैयाँको क्षति भएको छ ।
नापी कार्यालय सुर्खेतमा भवन तथा कोठा, फर्निचर, कम्प्यूटर र सवारी साधनमा दुई करोड ६३ लाख ६० हजार ९९० रुपैयाँ बराबरको क्षति भएको छ । यो कार्यालयका क्षति भएका सवारी साधनहरुको मूल्य भने खुलेको छैन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयमा चार लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने उच्च सरकारी कार्यालयको क्षतिको यकिन मूल्याङ्कन रकम खुलेको छैन ।

प्रदेश अन्र्तगत कार्यालयको क्षति
प्रदेशतर्फका सामाजिक विकास मन्त्रालयमा तीन लाख ५९ हजार ९०० रुपैयाँ बराबरको क्षति मोटरसाईकल जलेको छ । मुख्य न्यायाधिवक्ता कार्यालयको सवारी साधन र भौतिक संरचनामा एक करोड १४ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयमा एक करोड ३२ लाख १६ हजार ६१ रुपैयाँ ८७ पैसा बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा १ करोड ७९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कर्णाली प्रदेश सभा सचिवालयमा भौतिक संरचना, फर्निचर, विद्युतीय सामग्री, सवारी साधान लगायतको क्षति हुँदा ३ करोड ९४ लाख १६ हजार ३९४ रुपैयाँ क्षति मूल्याङ्कन गरिएको छ ।
वीरेन्द्रनगरको क्षति
यस्तै स्थानीय तहअन्तर्गतका वीरेन्द्रनगर नगरपालिकामा २ करोड ४६ लाख ३९ हजार बराबरको क्षति भएको छ । यसभित्र सुर्खेत सिटी हलको पनि क्षति समावेश गरिएको छ । वीरेन्द्रनगरका वडा नम्बर १ को कार्यालयमा २५ लाख, वडा नम्बर २ को कार्यालयमा ३९ लाख ६० हजार ५००, वडा नम्बर ३ को कार्यालयमा १ करोड ६४ लाख, वडा नम्बर ४ कार्यालयमा ८५ लाख ३५ हजार, वडा नम्बर ५ कार्यालयमा ४६ लाख ७५ हजार, वडा नम्बर ६ कार्यालयमा १ करोड ३७ लाख ७४ हजार, वडा नम्बर ७ को कार्यालयमा १८ लाख ९६ हजार रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
वडा नम्बर ८ कार्यालय मा १ कोड ४८ लाख ५ हजार, वडा नम्बर ९ को कार्यालयमा ३९ लाख ६० हजार १ सय, वडा नम्बर १० को कार्यालयमा ३५ लाख २५ हजार ९ सय, वडा नम्बर ११ को कार्यालयमा ४१ लाख ४३ हजार ४ सय, वडा नम्बर १२ को कार्यालयमा ६१ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
मूल्याङ्कन गरिएको भएको वीरेन्द्रनगरस्थित कार्यालयको कुल क्षति २१ करोड १० लाख ५६ हजार ७४६ रुपैयाँ ३५ पैसा बराबरको छ । योमध्ये वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुको क्षति १० करोड ९० लाख ८७ हजार ४ सय रुपैयाँ क्षति मूल्याङ्कन भएको छ । संघ र प्रदेश तहका कार्यालयको क्षतिको मूल्याङ्कन १० करोड १९ लाख ६९ हजार ३४६ रुपैयाँ ३५ पैसा रहेको छ ।
नेपाल कर्म । ८ आश्विन २०८२, बुधबार ११:१०