

काठमाडौं । गत साता देशका विभिन्न २८ वटा कारागारबाट भागेका कैदीबन्दीमध्ये आठ हजार तीन सय ७८ जना सम्पर्कमा आएका छैनन् । भागेकामध्ये शुक्रबार ३ बजेसम्ममा ६ हजार तीन सय ७९ कैदीबन्दी फिर्ता आएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
देशभरका कारागारबाट १५ हजार पाँच सय २१ जना भागेका थिए। भागेर फिर्ता आएकासहित हाल २१ हजार आठ सय ६ जना कारागारमा छन् । भाग्नुअघि देशभरिका कारागारमा ३० हजार ६ सय ३४ कैदीबन्दी थिए ।

कैदीबन्दीलाई तुरुन्त फिर्ता आउन कारागार विभागले सूचना जारी गरेको छ । सोही सूचनाका कारण ६ हजारजति कैदीबन्दी फिर्ता आएको केन्द्रीय कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।

कतिपयलाई प्रहरीले पक्राउ गरी ल्याएको उनले बताए । उनका अनुसार कारागारको नियम उल्लंघन गर्ने कैदीका हकमा कारागार ऐन, २०७९ अनुसार थप सजायको व्यवस्था हुने भएकाले समयमै फिर्ता आउने बन्दीका हकमा भने थप सजाय लागु हुँदैन तर कारगार ऐन उल्लंघन गरी फरार भएका बन्दीका हकमा थप सजायहरूको व्यवस्था छ ।
कारगार तोडफोड गरे, कारगारबाट भाग्ने या भगाउने उद्योग गरे, कारगारभित्र हातहतियार प्रयोग गरे र सो उद्योग गरे, कारगाकारको नियम उल्लंघन गरे अपराध अनुसार विभिन्न सजायको व्यवस्था गरिएको छ ।
भागेर जानेका हकमा थप १० वर्ष जेल सजाय तथा १० लाखसम्म जरिबाना या दुवै सजाय, पाँच लाख रुपैयाँ जरिबाना र पाँच वर्ष कैद या दुवै सजाय हुने कानुनी व्यवस्था छ । भागेका बन्दीहरूको सूची तयार गरी कारागार प्रमुखले प्रतिवेदन तयार गरी खोजबिनका लागि प्रहरीलाई दिइसकेकाले सूचना जारी भए बमोजिम बन्दीहरू समयमै फिर्ता भएमा थप सजाय भोग्नुनपर्ने निर्देशक न्यौपानेले बताए ।
नेपाल कर्म । ४ आश्विन २०८२, शनिबार १७:१८