पार्टी बलियो भए मात्र समाज बलियो हुन्छ : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पार्टी बलियो भए मात्र देश बलियो हुने बताएका छन् । देशका प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेस बलियो भए समाज आफैँ बलियो हुने मुख्यमन्त्री कँडेलले बताएका हुन् ।



मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यद्यपी पार्टीमा केही समस्या रहेको यसलाई सुधार गरेर आगामी दिन दलहरु नै आउने यिनीहरुले सरकार चलाउने मुख्यमन्त्री कँडेलले दाबी गरे ।

जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीलाई निन्दनीय भएको बताए । ‘आन्दोलनलाई उद्देश्य भन्दा फरक ढंगले प्रयोग गरिएको जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजानीको जिम्मेवार को हुने भन्ने विषयमा जेनजी बीच अन्यौल सिर्जना गरेको छ,’ उनले भने,‘आन्दोलन सुरु भएदेखि नै गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरुलाई समेत भड्काएर घटना गराइएको हो ।’

संघीय राजधानीमा अप्रिय घटनाहरु घटेको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको उनले बताए । ‘काठमाण्डौं स्थित सिंहदरबार, संसद भवन, शितल निवास लगायतका इतिहास बोकेका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएपछि कर्णालीमा पनि सुरक्षा प्रणाली फितलो पारिएको थियो,’ उनले भने,‘जसका कारण आफू सुरक्षालाई मध्यनजर गर्दै कपासेस्थित सेनाको ब्यारेकमा बस्नु प¥र्यो ।’

जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायले सजाय दिने प्रावधान रहेको भए पनि व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलनलाई भड्काइएको आरोप लगाए । ‘जेन जी आन्दोलनका नाममा कर्णालीमा धेरै सरकारी संरचना तोडफोड र आगजानी भएका छन्,’ उनले भने,‘सबैभन्दा क्षति प्रदेश सभा, प्रदेश लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय र राजधानी स्थित प्रमुख तीन दलका पार्टी कार्यालय, र केही नेता लगायत आफ्नो घर समेत आगजनीमा परेर तहसनहस भएका छन् ।’

आन्दोलनपछि घटेका घटना र क्षति ग्रस्त स्थानहरु सबैमा आफूले अनुगमन गरेको उनले बताए । ‘आन्दोलनमा व्यक्ति विशेष र पार्टी विशेषलाई मात्र लक्षित गरिए छ । लेख्नेहरुले जे लेखे पनि आफूले आफ्नो दायित्व र कर्तव्य बिर्सिने छैन्,’ उनले भने,‘जेनजीका नाममा भएको आगजनी र तोडफोड स्वीकार्य छैन । समस्याका बाबजुद सरसल्लाह गरेर अगाडि बढ्नुपर्छ ।’

तपाईको प्रतिक्रिया