जेन् जी आन्दोलन: नयाँ पुस्ताको आवाज र पुरानो संरचनाको चुनौती

युवा शक्ति, नवीन सोच र प्रगतिशील दृष्टिकोण राष्ट्र निर्माणको आवश्यकता हो।हालैमात्र यस तथ्यलाई पुष्टी गर्न देशले जेन् जी आन्दोलनको सामना गर्नुपर्यो। आन्दोलनको समाप्तीसँगैको ऐक्यबद्धताले उर्जावान पुस्तालाई राष्ट्र निर्माणको मुलधारमा ल्याउन सकारात्मक बल थपेको छ।धन्यवाद प्रधानसेनापतीज्यू, तपाईंलाई Gen Z ले युगौ सम्झिने छ। धन्यवाद  सम्माननीय राष्ट्रपतिज्यू, तपाईंको योगदानले आगामी चुनावमा काङ्ग्रेसले सहानुभूति प्राप्त गर्नेछ! धन्यवाद के पी बा!



आगामी छ महिने संघर्षको दौरानमा नयाँ नेतृत्वले तपाईँलाई सम्झिरहने छ र तपाईँ अब यो देशको योग्य सल्लाहकारको रूपमा स्थापित हुनुहुनेछ। प्रचण्डबाट आगामी चुनावमा गठबन्दनको महत्त्व साना दल/ समूहले बुझ्नेछ्न यद्यपि आगामी चुनाव उन्नत लोकतन्त्रको प्रतीक बनोस, शुभकामना!

अब जेन् जी आन्दोलनसँग जोडिएका केही महत्वपूर्ण विषयका बारेमा उदाहरणसहित विश्लेषणात्मक चर्चा गरौं ।

१) सार्वजनिक सेवा प्रवाहको गुणस्तरको विषय:

देशको शासकीय प्रणालीमा जति राजनीतिक नेतृत्वको हात हुन्छ, लगभग त्यतिनै प्रशासनिक नेतृत्वको पनि हुन्छ। Gen Z को ऐतिहासिक आन्दोलनमा घुसपैठ भयो र आन्दोलनको मूल मर्म विपरित राज्यलाई अप्रिय दुर्घटनातर्फ डोर्यायो।

तर यो अपूरणीय क्षतीको अवस्था सिर्जना हुनुको एउटा प्रमुख कारण सार्वजनिक सेवा प्रवाहको गुणस्तरको विषय राजनीतिक एवं प्रशासनिक नेतृत्वको प्राथमिकतामा नपर्नु पनि हो।

बढ्दो दलीय प्रभाव तथा गुटबन्दी (favouritisim), प्रविधिसँगको अरुची ( luddites), कठोर प्रक्रिया (inflexibility), शुन्य सरहको नवप्रवर्तनले सार्वजनिक सेवा प्रवाह प्रभावित भएको दशकौ बितेको छ।

आजको नवीन पुस्ता: Gen Alpha (2010-2025) – प्रविधिको उच्चतम प्रयोगले आफ्ना अपेक्षा तिव्र गतीमा पूरा गर्ने पुस्ता हो। यो पुस्ताले पनि आगामी वर्षदेखि राज्यको शासकीय प्रणालीसँग प्रविधिमैत्री नागरिकताको अपेक्षा गर्दैछ अर्थात उ १६ वर्ष पुग्दै छ। उ

सले आफ्नो बुवा/ आमाको मोबाइलमा ‘तपाईंको छोराको नागरिकता लिने उमेर पूरा भयो, नागरिकता प्राप्तीका लागि आवेदन दस्तुर बुझाउन यहाँ क्लिक गर्नुहोस’ भन्ने pop-up को अपेक्षा गर्ने पुस्ता हो।

यता हामी कर्मचारी नेतृत्व तहमा बसेकाले सेवा प्रवाह सरलीकरणमा नवीन निर्णय लिन नसक्दा जन्मदर्ताको विवरण पनि अन्तरआवद्ध  (interoperable)  गर्न नसकेर पुन: हाम्रो र उसको समय यो झ्याल र त्यो झ्यालमा खर्च गर्न विवश छौ।

नयाँ पुस्ताको आशा र हाम्रो यथार्थमा आकाश जमिनको अन्तर छ। Licence, NID, संचय कोष, स्वास्थ्य बीमा,  SSF आदि कार्डको दोहोरोपना त नयाँ पुस्तालाई अनौठो लाग्ने विषय हुन्।

कार्यालयलाई अत्यावश्यक सामग्री खरीद गर्न १२० दिन अर्थात् चार महिना भन्दा बढी समय लाग्छ भन्ने कुरा त Gen Alpha को कल्पना बाहिरको कुरा हो।

उ त आवश्यक सामग्रीको प्रतिशपर्धात्मक बजार मूल्य र गुणस्तर एउटा सफ्टवेयरबाट वा ब्लकचेनबाट निर्धारण गर्न सकिन्छ र त्यसलाई शर्तमा बाधी तुरुन्त अनलाईन अर्डर गरी खरिद गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छ।हामी पुरानै शैलीमा जिल्ला दररेट निर्धारण गर्न विवश छौँ ।

कार्यालय पिच्छे उस्तै प्रकृतिका खरिद प्रकृयामा हामी रनभुल्ल रहन्छौ। ती हाम्रा प्रगतिका मानक बनेका छन्।उसले त त्यस्ता सफ्टवेयर वा ब्लकचेन हामीले गर्ने दररेट निर्धारणको सट्टामा प्रयोगमा ल्याउन सकिन्छ र त्यसकै आधारमा गुणस्तरीय तथा मितव्ययी खरिद गर्न सकिन्छ भन्ने सम्भावनामा विश्वास गर्छ।उ Gen Alpha हो , हामी त Gen Z  मा पनि पुग्न सकेका छैनौ। अब सोचौं असन्तुष्टि किन छ?

२) उत्पादन/ निर्यातको विषय:

कृषिको उदाहरण लगौं, मानौँ कोही  Gen Z वा आम किसानले चक्लाबन्दी खेती गर्न इच्छुक भयो। उसको इच्छा छ कृषि उपज उत्पादन गरेर बजार पुर्याउने, उसको आवश्यकता हो;

१.यन्त्र : ( ट्रयाक्टर, sprinkler, drip)

२.उन्नत बीउ,

३.प्राविधिक सुपरिवेक्षण,

४. रासायनिक मल,

५. विषादी,

६. बजारीकरण सामग्री आदि।

B:C ratio कम छ हामीले अनुदानका कार्यक्रम चलाएका छौं। उसलाई अनुदानको आश लाग्छ: आवेदन दिन मिल्ने १-पालिकामा, २-कृषि विकास कार्यालय / ज्ञान केन्द्रमा, ३-राष्ट्रिय कृषि  आधुनिकीकरण कार्यक्रममा।

सामान्यतया खेतीमा व्यस्त किसानले फाइल खडा गरेर हुलाक टिकट खोज्दै कार्यक्रम कहिले आउने हो? के के आउने हो? कुन ठाउँमा कुन कार्यक्रमका लागि कसरी आवेदन दिने हो? उ एकछिन रनभुल्ल नै पर्छ।

त्यसपछि पहिलो वर्ष: मुस्किलले एउटा हाते ट्रयाक्टरसम्म हात पर्छ त्यो पनि बजारमा ५०००० जस्तो पर्नेमा त्यहाँ लगभग ६८००० मा  -५०% अनुदानमा प्राप्त हुन्छ। ( सार्वजनिक खरिद माथी नै चर्चा भएको हुँदा समय र गुणस्तरमा थप चर्चा नगरौं) दोस्रो वर्ष: मुस्किलले थोपा सिंचाई, तेस्रो वर्ष मुस्किलले टनेल।

आवश्यकता कता? अनुदान कता? इच्छाशक्ती कहिलेसम्म ? राज्य (प्राविधिक) को उपस्थिति के मा – त्यो अनुदानको अनुगमनमा कि प्राविधिक परामर्शमा? कार्यक्रम एकिकृत गर्न किन नसकेको हामीले?

स्थानीय तहले किसानलाई प्रस्ताव माग गर्नका लागि तालिम दिने, अन्य तहसंग समन्वय गर्ने र उक्त प्रस्तावलाई अनुदान दिन मनासिब भए नभएको कृषि समितीबाट सिफारिस  गरि कुनै विश्वासिलो केन्द्र उदाहरणका लागि कृषि सामग्री तथा व्यापार कम्पनी लि. बाट license लिएको स्थानीय तहको पोइन्टबाट ५०% अनुदान दिएर एकैचोटि सबै आवश्यकता पूरा गर्न किन नसकेको? त्यो किसानलाई नपाउनका लागि किन दौडाएको? अब सोचौं असन्तुष्टि किन छ?

निर्यातको कुरामा त हामी विज्ञ आधी त फिल्ड अनुगमन काजमा व्यस्त छौँ भने आधी सधै विश्वविद्यालयमा सिद्धान्त पढाउनमा मात्र व्यस्त छौँ। कसले  पत्ता लगाइदिने पालिका/वार्ड विशेष comparative र competitive advantage भएका उपज, कसले सिकाइदिने organic certification, कसले गरिदिने निर्यातमा सहजीकरण?

३) मौलिकताको विषय:

हाम्रा आफ्नै मौलिक प्राचीन सभ्यता छ्न्। हामीसँग सनातन धर्म छ, संस्कृत विषय छ, बुद्धका बिचार छ्न्, नैतिक शिक्षा छ, योग छ, आयुर्वेद छ, कला संस्कृतिको  धरोहर छ। हामीले यी सबै कुरालाई नजरअन्दाज जस्तै गरेर हाम्रा पाठ्यक्रममा आयातित विषयवस्तुलाई मात्र प्राथमिकता दियौँ?

बिचरा त्यो कक्षा छ मा पढ्ने अबोध बालकलाई पुस्तकले थिचेर आवश्यकता भन्दा बढी विषयवस्तु थोपारिदै छ। ग्रेडिङ सिस्टमका नाममा थ्रेसहोल्ड फितलो गराउँदा विद्यार्थीले मेहेनत कम प्रविधिको दुरुपयोग बढी गरेको देखिन्छ।

सुन्दा सामान्य लाग्न सक्छ तर यो Gen Z आन्दोलनलाई गहन ढंगबाट हेरौँ: पहिलो दिनको अप्रिय घटनाको आक्रोशमा अधिकांश नागरिक दोश्रो दिन उद्दण्डतापूर्वक आफ्नै सार्वजनिक सम्पती मास्नमा तल्लीन भए जसबाट सिर्जित क्षती अकल्पनीय छ।

आखिर पाठ्यक्रममा त नैतिक शिक्षा, योग शिक्षा, सार्वजनिक सम्पत्तिको महत्व, राज्य सञ्‍चालनका आधार तथा प्रक्रिया जस्ता विषयले स्थान पाएको भए सार्वजनिक तथा नीजी सम्पत्ति माथिको हानी कम हुन्थ्यो कि?

हामीले प्रविधिका नाममा मानसिक असर पर्ने गरि त्यस्तो प्रविधीको प्रयोग अनुत्पादक क्षेत्रमा बढी गर्नुले आज नयाँ पुस्तामा आवेग बढ्नुका साथै समाजीकरण र धैर्यता कम हुँदै गएको महशुस Gen Z अन्दोलनले देखाएको छ।

माथी प्रस्तुत गरिएका प्रतिनिधि विषयले जेन जी आन्दोलनले नेपालको राजनीतिक, सामाजिक र प्रशासनिक संरचनामा नयाँ चेतना र चुनौती प्रस्तुत गरेको विषय सत्य हो। यो आन्दोलन केवल नयाँ पुस्ताको आवाज मात्र होइन, पुरानो संरचनामा व्याप्त भ्रष्टाचार, असमानता र प्रशासनिक कमजोरीको पनि प्रतिक्रिया हो।

सार्वजनिक सेवा प्रवाहमा भएको कमजोरी, प्रविधि अवमूल्यन, र कठोर प्रक्रिया जस्ता विषयहरूले नयाँ पुस्ताको अपेक्षा पूरा गर्न नसकेको वास्तविकताले असन्तुष्टिको अवस्था सिर्जना गरेको छ।

यसबाट सिकेर, राष्ट्रिय स्तरमा पारदर्शिता, समावेशी नेतृत्व, प्रविधि मैत्री सेवा प्रणाली, कृषि तथा उत्पादन कार्यक्रमको एकीकरण र सांस्कृतिक समृद्धिको संरक्षणमा जोड दिन आवश्यक छ। यो मात्र होइन, आन्दोलनमा भएका बलिदान र पीडालाई सम्मान गर्दै नयाँ पुस्तासँग संवाद गरी लोकतान्त्रिक, विकासशील र समावेशी नेपालको बाटो अगाडि बढाउन अपरिहार्य देखिन्छ।

अन्त्यमा, आन्दोलनको उठानले पुरानो संरचनालाई सुधार्न र नयाँ पुस्तामा विश्वसनीयता स्थापना गर्न मद्दत गरोस। Gen Z को आन्दोलन क्षणिक भावनाको विस्फोट मात्र होइन, दशकौँदेखि थुप्रिएको असन्तुष्टिको प्रतिफल हो। अब प्रश्न एउटै छ हामीले यसलाई अवसरका रूपमा लिन सक्छौं कि फेरि इतिहास दोहोर्याउनेछौं ?

सहादत सपुतप्रति हार्दिक श्रद्धाञ्‍जली !

लेखक जाेशी, शाखा अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया