कर्णालीमा जेनजी आन्दोलन : नेताका घरदेखि सरकारी कार्यालयमा आगजनी, अर्बौका भौतिक संरचना नष्ट

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा जेनजी आन्दोलनबाट नेताका घरदेखि सरकारी कार्यालयहरु जलेर नष्ट भएका छन्। भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनबाट कर्णाली प्रदेशका अधिकांश कार्यालयमा आगजनी हुँदा अर्बौको क्षती भएको छ।



सामाजिक सञ्जाल बन्द, भ्रष्ट्राचार, अनियमिता र बेथितिका विरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले उग्र रुप लिएपछि नेताका घरदेखि सरकारी निवास र कार्यालयहरु जलाइएका छन्।

भदौ २३ गते (आइतबार)को जेनजी आन्दोलनमा सरकारबाट अत्याधिक बल प्रयोगपछि १९ जना कलिला युवाको मृत्यु पश्चात हिन्सात्मक बनेको आन्दोलन सोमबार तोडफोड र आगजनीमा परिणत भएको थियो।

सोही जेनजी आन्दोलनका क्रममा सोमबार अराजक युवाहरुको भीडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, वडा कार्यालय लगायत प्रदेश सरकारका कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए।
सोमबार (भदौ २४) गते बिहान सात बजेदेखि सुरु भएको जेनजी आन्दोलन कर्णाली प्रदेशसभा सचिवालयमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो। त्यसपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलेको सरकारी निवासमा प्रदर्शन गरेर वीरेन्द्रनगरको मंगलगढीचोकतर्फ मोडिएको थियो।

त्यसपछि बिहान ९ बजेदेखि पुनः जेनजीहरु मंगलगढीचोकमा जम्मा भएर अराजकशैलीमा आन्दोलनमा उत्रिएका थिए। मंगलगढीदेखि वीरेन्द्रचोक हुँदै आन्दोलनकारीहरु राजनीतिक दलका कार्यालय पुगेका थिए। वीरेन्द्रनगर नगरपालिका–६ मा रहेका नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड सँगै आगजनी गरे। त्यहाँ भएका सबै सामानहरु जलेर नष्ट भएका छन्।
यस्तै, आन्दोलनकारीले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा पनि पूर्णरुपमा क्षति पु¥याएका छन्। पार्किङमा राखिएका सवारी साधानसँगै कार्यालयभित्र पसेर गरिएको तोडफोड र आगजनीका कारण लेखा सम्बन्धिका सम्पूर्ण कागजात, कम्पूटर, प्रिन्टर लगायतका भौतिक संरचना पूर्णरुपमा नष्ट भएका छन्।

त्यसपछि अराजक आन्दोलनकारीले प्रत्यक्ष नागरिकसँग जोडिने नापी कार्यालय, वीरेन्दनगर नगरपालिका लगायतका सरकारी कार्यालयहरुलाई निशाना बनाए। नापि कार्यालयमा आगजनीका कारण कार्यालयका जग्गा नाप जाँच सम्बन्धिका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएका छन्।

त्यसपछि जेनजीहरुले नेपाली काँग्रेसका उपसभापति तथा पूर्वउप्रधानमन्त्री पूर्णबहादुर खड्का तथा उनका भाइ डाक्टर डम्बर खड्काको घरमा तोडफोड र आगजनीसँगै लुटपाट समेत गरे।

यस्तै, आन्दोलनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सरकारी वलिक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका करोडौंको भौतिक संरचनामा क्षति पु¥याएका छन्। उनिहरुले कर्णाली प्रदेशसभा सचिवालय पुरै जलाएर नष्ट बनाएका छन्। कर्णाली प्रदेशसभालाई कब्जामा लिएर पूर्णरुपमा ध्वस्त पारेका आन्दोलनकारीहरुले प्रदेशसभा नजिकै रहेको मुख्यमन्त्रीको सरकारी निवास, कर्णाली प्रदेशका कृषिमन्त्रीको सरकारी निवासमा पसेर लुटपाटसँगै आगजनी गरेर धोष्त पारेका छन्।

यस्तै, प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले तोडफोड र आगलागीबाट प्रदेशसभामा एक अर्ब बढीको क्षति भएको जानकारी दिए। उनकाअनुसार अराजक युवाहरुले प्रदेशसभाभित्रका भौतिक तथा सरकारी कागजात पूर्णरुपमा नष्ट गरेका छन्। प्रदेशसभा परिसरमा तोडफोड र आगलागी नभएका कुनै संरचना बाँकी देखिदैनन्। अघिपछि प्रदेशसभामा प्रवेश गर्न निकै कडाई गर्ने प्रहरीले सुरक्षा दिन नसक्दा भौतिक संरचनासँगै सम्पूर्ण सरकारी कागजातहरु जलेर नष्ट भएका छन्।

यस्तै, आन्दोलनकारीहरुले नेपाली कांग्रेसका उपासभापती पूर्णबहादुर खड्का, उनका भाई डाक्टर डम्बर खड्काको नीजि निवाससँगै वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको मुख्यमन्त्री कँडेलको घर, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उप–प्रमुुख निलकण्ठ खनालको घरमा समेत तोडफोड, आगजनीका साथै करोडौको धनमाल लुटपाट गरेका छन्।

आन्दोलनकारीले वीरेन्द्रनगर नगरपालिका १ देखि १२ नम्बर वडा कार्यालय, वीरेन्द्रनगरस्थित सभाहल, जनमोर्चाको पार्टी कार्यालय तथा माया पेट्रोल पम्पमा समेत क्षति पु¥याएका छन्।

यती बेला कर्णाली प्रदेशमा सरकारी तथा नीजि कार्यालयर घरहरुमा भएका तोडफोड र आगजनीबाट क्षति भएका भवनहरु मात्रै छन्। घरभीत्रका सबै सामान तथा धनसम्पती जलेर खरानी भएको छ। सेवाग्राहीले भरिभराउ हुने अधिकांश सरकारी अड्डाहरु यतिबेला सुनशान छन्। सरकारी कर्मचारीले कार्यालयमा गएका छैनन्। उनिहरुले जलेका कार्यालयसँगै आफ्नो भविष्य के हुने हो भन्ने चिन्तामा छन्।

तपाईको प्रतिक्रिया