
सुर्खेत — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिने प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न भएको छ। ‘मानव अधिकार तथा सामाजिक न्याय’ अभियानलाई उद्देश्य बनाएर ग्रामीणमुखी युवा अभियान (रोयम) नेपाल र युवा मानवअधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा, एइआईएनको सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा सम्मेलन सम्पन्न भएको हो।
बिहीबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सम्मेलनमा कर्णालीका १० वटै जिल्लाबाट आएका युवा मानवअधिकार रक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दुई दिनसम्म चलेको सम्मेलनमा दिगो विकास लक्ष्यको कार्यान्वयनमा युवा मानवअधिकार रक्षकहरूको भूमिका, राज्यको दायित्व, सुरक्षा, शारीरिक अखण्डता, कल्याण, शान्ति र संस्थागत सुदृढीकरण जस्ता विषयमा विस्तृत छलफल भएको रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए। उनका अनुसार, रोयम नेपालले कर्णालीका सबै जिल्लामा सक्रिय रूपमा युवा मानवअधिकार सञ्जाल गठन गरी मानव अधिकारका सवालमा निरन्तर काम गर्दै आएको छ।

सम्मेलनमार्फत युवा मानवअधिकार रक्षकहरूको आगामी तीन वर्षको कार्ययोजना समेत सार्वजनिक गरिएको छ। उक्त योजनाअनुसार, कर्णालीका १० वटै जिल्लामा एकदिने कार्यशाला सञ्चालन गर्ने, दुई वर्षमा दुई पटक प्रादेशिक कार्यशालाको आयोजना गर्ने र प्रत्येक कार्यशालामा २० देखि ३० जना युवा मानवअधिकार रक्षकहरूको सहभागिता सुनिश्चित गर्ने योजना छ। साथै, कर्णालीभर युवा मानवअधिकार रक्षक सञ्जाल विस्तार गर्ने र प्रदेशस्तरीय संरचना तत्काल गठन गर्ने निर्णय पनि गरिएको छ।
सम्मेलनको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य कल्याणी खड्का, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्व कानुन मन्त्री कृष्णबहादुर जी.सी., कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगी, कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक केदार खनाल, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापा, योजना आयोगका कार्यालय प्रमुख गोपाल के.सी., मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक पिताम्बर ढकाललगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकका अनुसार, सम्मेलनले युवा मानवअधिकार रक्षकहरूलाई दक्ष, संगठित र सहकार्यमा उन्मुख बनाउँदै प्रदेशभर मानव अधिकार प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

नेपाल कर्म । २० भाद्र २०८२, शुक्रबार २१:५०