

काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारका रुपमा लक्ष्मीचन्द्र महतलाई नियुक्त गरे । बिहीबार मन्त्री पौडेलले लक्ष्मीचन्द्रलाई रजिष्ट्रारमा नियुक्त गरेपछि उनले मन्त्री पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबाट खादासमेत लगाए । तर, लक्ष्मीचन्द्रले प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायासँगै लगाएको खादाको वैधानिकतामा प्रश्न उठेपछि अहिले स्वास्थ्य मन्त्रालयमा खैलाबैला मच्चिएको छ ।
बिहीबार मन्त्रीले लक्ष्मीचन्द्रलाई रजिष्ट्रार नियुक्त गरेको मन्त्रीका स्वकीय सचिव शालिग्राम दाहालले जानकारी दिए । ‘मन्त्रीज्यूले हिजो (बिहीबार) नै उहाँ (लक्ष्मीचन्द्र)लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरिसक्नुभएको छ,’ उनले भने, ‘आज चिठी बन्छ ।’ तर, स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले मन्त्रीको पौडेलको निर्णय नियम विपरित भएको भन्दैं बिहीबार उनको नियुक्त पत्र नै बनाइ दिएनन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शुक्रबार बिहान लक्ष्मीचन्द्रको नियुक्त नभएको र मिडियाले हावाका भरमा समाचार लेखेको बताए । ‘अहिलेसम्म कर्णालीमा रजिष्ट्रार नियुक्त भएको छैन,’ उनले भने, ‘पुष्टि नगरेर कताबाट समाचार आएछन् थाहा भएन ।’

शुक्रबार विहान स्वास्थ्य सचिव डा. विकास देवकोटालाई यसबारेमा जिज्ञासा राख्दा उनी सम्पर्कमा आएनन् । प्रतिष्ठान तथा स्वास्थ्यअन्तर्गतका निकायहरुको पदाधिकारी नियुक्तिको फाइल उठाएर पत्र बनाउने नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आफूलाई कर्णालीको रजिष्ट्रारको नियुक्तिका विषयमा केही थाहा नभएको भन्दैं पन्छिए । ‘मन्त्रीज्यूले नियुक्ति गर्ने हो, तपाईंहरुकोमा समाचार पढेर मैले थाहा पाएको हुँ,’ उनले भने, ‘मलाई यस विषयमा केही थाहा भएन ।’
के भएको हो विवाद ?
स्वास्थ्य मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारका लागि कुनै पनि विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने प्रावधान छ । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १७ चैतमा बसेको सभा बैठकले अन्य रजिष्ट्रारको योग्यता परिवर्तन गर्दै मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र, अस्पताल प्रशासन वा व्यवस्थायकीय विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा १० वर्षको कार्याअनुभव भएको वा चिकित्साशास्त्र, जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी मन्त्रालय सम्वद्ध निकायमा कम्तिमा १० औं तहको कार्यअनुभव भएको वा सो सरह कार्य गरेको हुनुपर्ने व्यवस्था ग¥यो । तर, लक्ष्मीचन्द्रको योग्यता जनसंख्या विषयमा स्नातकोत्तर रहेको भन्दै त्यो योग्यता सिनेटले तोकेको व्यवस्थाअनुसार नपुग्ने भन्दैं मन्त्रालयका कर्मचारीले नियुक्ति पत्र बनाउन अस्वीकार गरेपछि विवाद सत्तहमा आएको हो । जबकी, १७ चैत्रको सिनेट बैठकको उक्त निर्णयमा स्वास्थ्यमन्त्री पौडेलले पनि हस्ताक्षर गरेका छन् । (हेल्थ आवाजबाट)
नेपाल कर्म । २० भाद्र २०८२, शुक्रबार १३:०६