हालसम्म कर्णालीमा भेटिएकाे छैन शापु रोग, जुन लागे आँखाकाे ज्योती नै गुम्नसक्छ


सुर्खेत । कर्णालीमा हालसम्म पनि आँखामा लाग्ने शापु रोगका बिरामी भेटिएका छैनन् । नेपालमा सन् १९७५ मा शापु रोग देखा परेकोमा त्यसको ५० वर्षपछि यसका बिरामी कर्णालीमा भने भेटिएका छैनन् ।



तर, यो रोग देखा नपरेपनि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले पूर्व सचेतता भने अपनाएको जनाएको छ ।

कर्णाली प्रदेशमा यो रोगका बिरामी फेला नपरेपनि पूर्व सचेतनाका लागि कार्यक्रम गर्दै आएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले बताए । ‘रोगको संक्रमण देखिएको छैन् भनेर चुप लागेर बस्ने कुरा त भएन्,’ उनले भने,‘पूर्व तयारीका काम गर्दा भाबी दिन यसले सचेतनाको काम त गर्ला नी ।’

आँखा पाकेजस्तै अचानक एउटा आँखा रातो हुँदै कालो भागको बीचमा सेतो देखिने, चाँडो–चाँडो ज्योति कम हुँदै जाने, चिप्रा नआउने र खासै नदुख्ने लक्षण पाइएमा सिजनल हाईपरएक्युट पानुभिआइटिस (शापु) हुन सक्छ ।

बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् । नेपालमा मात्र हुने यो शापु रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ ।

विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन् ।

रोगको लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र उपचारका लागि अस्पताल पुग्नुपर्ने नेपाल नेत्र ज्योति संघ सुर्खेतद्धारा सञ्चालित आखाँ अस्पतालमा कार्यरत डा.आंकाक्षा रानाले बताइन् । ‘नेपालमा सन् १९७५ मा पोखरामा पहिलोपटक यो रोग देखिएको थियो । तर, शुरुमा यसलाई ट्युमर भनियो । सन् १९७९ मा डा. मदन उपाध्यायको टोलीको अध्ययनले यसलाई सिजनल हाईपरएक्युट पानुभिआइटिस (सापु) रोगको नाम दियो । तर, कारण भने प्रष्ट भएन,’ उनले भनिन्,‘त्यसपछिका करीब २० वर्ष यो रोग देखिएन । तर, सन् २००० पछि फेरि देखियो, २००४ पछि भने बढी नै आउन थाल्यो ।’

रोग देखिएको पाँच दशक पुग्दा पनि यकिन कारण पत्ता लागेको छैन ।

के हो शापु रोग ?

शापु आँखाको ज्योति नै नष्ट गर्ने रोग हो । सेतो पुतली (मोथ) छोएको हात या अन्य कुराले आँखा छोए आँखाभित्र कीटाणु संक्रमण गर्छ । सो संक्रमित कीटाणुको छिटो उपचार नगरे आँखाको दृष्टि नै गुम्छ । खेतबारीमा पाइने सेतो रङमा कालो धर्सा मिसिएको पुतलीले यो रोग ल्याउँछ । पुतलीबाट सर्ने यो कीटाणु स्टटोकोसनिमोनी स्टाफओरियन्स हो । यही कीटाणु संक्रमण भयो भने आँखाको ज्योति गुम्छ । तर कतिपय अवस्थामा सो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने भएकाले हालसम्म यस रोगको खास कारण यही हो भनेर पत्ता नलागेको चिकित्सक बताउँछन् ।

तपाईको प्रतिक्रिया