पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग


सुर्खेत । तीन दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको शुभकालिका–१ गगने खोलामा गएको पहिरोसँगै खसेको ठूलो ढुंगा फुटाउन नसक्दा अवरुद्ध सडक खुल्न नसकेको हो ।



पहिरो पन्छाउन आइतबार बिहानदेखि दुई वटा एक्स्काभेटर लगाइए पनि ठूलठूला ढुंगा पन्छाउन नसकिँदा सडक खुल्न नसकेको डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । सम्भव नभएन विस्फोट गरेर भए पनि खुलाउने तयारी गरिएको उनको भनाइ छ ।

गगने खोलाको पहिरोले नागरिकले दुःख पाएकाले ठूला ढुंगा फुटाउन मेसिन (ब्रेकर) लगाएर होल खोप्न सुरु गरिसकेको र विस्फोटनको लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर रक्षा मन्त्रालयको स्वीकृतिका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए । ‘ठूलो ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आज नै नेपाली सेनाले विस्फोट गरेर सडक खुलाउँछौं ।’

तीन दिनदेखि सडक अवरुद्ध हुँदा नागरिकलाई सास्ती भएको छ ।

तपाईको प्रतिक्रिया