सुर्खेतमा महिला स्वास्थ्य लक्षित निःशुल्क शिविर, २५५ जनाले लिए सेवा



भाद्र १४, सुर्खेत। सुन्दर कर्णाली संस्थाको आयोजनामा तथा वुमन फोरम निकुञ्ज अष्ट्रेलियाको आर्थिक सहयोगमा गुर्भाकोट नगरपालिका–७, मेहेलकुना अस्पताल, सुर्खेतमा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा ३० वर्ष माथिका महिलाको पाठेघर मुखको क्यान्सर, अङ्ग खस्ने समस्या लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो। कुल २५५ महिलाले सेवा लिएका मध्ये २० जनामा VIA पोजिटिभ देखिएको छ भने जटिल समस्या भएका केहीलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको आयोजक संस्था, अध्यक्ष निर्मला अधिकारी ले जानकारी दिइन् । साथै ५ जना महिलामा रिङ पेसरी राखिएको र अन्य समस्यामा निःशुल्क औषधि वितरण र चिकित्सक परामर्श सेवा प्रदान गरिएको थियो।

शिविरमा प्रदेश अस्पताल कालागाउँमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. ललित जंग शाहीलगायतको चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुन थिए। प्रदेश अस्पतालका पूर्व मेसु प्राध्यापक डा. डम्बर खड्का, उपप्रमुख, मेहेलकुना अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थितिमा शिविर उद्घाटन गरिएको थियो।

शिविर उद्घाटन गर्दै नगरप्रमुख हस्त पुनले भने–“यस्ता स्वास्थ्य कार्यक्रम गाउँघरमै आइपुग्नु खुसीको कुरा हो। यसले महिलामाझ स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास लिएको छु।”

त्यस्तै, डा. डम्बर खड्काले भने– “महिलाहरुमा पाठेघरसम्बन्धी समस्या सामान्य भए पनि लाज, डर र सामाजिक कारणले नियमित परीक्षण गर्दैनन्। यही कारणले समस्या जटिल बन्छ। यस्ता शिविरले धेरैलाई सहयोग पुर्‍याउनेछ।”


सुन्दर कर्णाली संस्थाकी अध्यक्ष निर्मला अधिकारीले एकदिने शिविरमा २ सयभन्दा बढी महिलाको सहभागिता सकारात्मक रहेको बताउँदै भनिन्–
“यसपटकको शिविरबाट धेरै महिलाले लाभ लिनुभयो। अझै गाउँघरमा महिलामुखी स्वास्थ्य समस्या ठूलो चुनौति बनेको छ। आगामी दिनमा यस्ता शिविरलाई अझ व्यापक बनाउने हाम्रो योजना छ।”

गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गतको नारी निकुञ्ज अष्ट्रेलियाले विगतदेखि नै नेपालका दुर्गम भेगमा महिलामुखी स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ। शनिबारको शिविर पनि सोही नारी निकुञ्ज सँग समन्वय गर्दै सुन्दर कर्णाली संस्थाले आयोजना गरेको हो ।

 

तपाईको प्रतिक्रिया