कर्णालीमा बढ्दै लागूऔषध सेवनकर्ता

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समयमा लागूऔषध सेवनकर्ता बढ्दै गएका छन्। प्रदेशभर एक हजार ८ सय ११ जना लागूऔषध सेवनकर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले सोमबार वीरेन्द्रनगरमा भएको लागूऔषध, मदिरा एवं सूर्तिजन्य पदार्थको सेवनविरुद्ध अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

प्रदेश प्रहरी प्रमुख डिआइजी भिमप्रसाद ढकालले हरेक वर्ष कर्णालीमा लागूऔषध कारोवारी तथा सेवनकर्ताको संख्या बढ्दै गएको बताए।

‘आर्थिक वर्ष ०७६/०७७ मा १०६ पुरुष, सात महिला प्रहरी नियन्त्रणमा आएका थिए भने ०७७/७८ मा १६४ पुरुष र ८ महिला हिरासतमा पुगेका थिए। यस्तै, चालु आर्थिक वर्षको हालसम्म कर्णालीका कारागारमा १५० जना पुरुष र १३ जना महिला लागु औषध कारोवार तथा सेवनको आरोपमा हिरासतमा रहेका छन्।

डिआइजी ढकालले पछिल्लो समय यातायात र लागूऔषध एक अर्काको परिपुरक जस्तै भइसकेको बताए उनले भने, ‘जब यातायात पुग्छ, त्यहाँ यसको कारोवार बढदै गइरहेको छ। यो नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने बताउँदै शंका लागेको खण्डमा प्रहरीलाई खबर गर्ने खालको समुदाय बनाउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।’

यता, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी जितेन्द्रले अब लागु औषध नियन्त्रणका लागि आवश्यक कानून, कार्यविधि तथा योजनाहरु बनाउन तत्काल बनाउनुपर्ने बताए। उनले लागूऔषध सरुवा रोग जस्तो बढेकाले यसलाई न्यूनिकरण गर्नका लागि आवश्यक कानूनको निर्माण गरिने बताए।

तपाईको प्रतिक्रिया