भालुको पित्त र चरेससहित भारतमा समातिए डोल्पाका सुर्यबहादुर


सुर्खेत । भारतको उत्तराखण्ड राज्यको पिथौरागडबाट ठूलो मात्रामा तस्करीको सामानसहित एकजना नेपाली पक्राउ परेका छन् । करिब एक करोड मूल्य बराबरको भालुको पित्त र चरेससहित नेपाली नागरिकलाई धारचुलाबाट भारतीय पुलिसले नियन्त्रणमा लिएको हो ।



उत्तराखण्ड राज्यलाई लागुऔषध मुक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘ड्रग फ्री देवभूमि’ अभियान अन्तर्गत जाँचका क्रममा पिथौरागढ प्रहरीले ठूलो मात्रामा तस्करीको सामानसहित डोल्पाका सूर्यबहादुर बुढाथोकीलाई पक्राउ परेको जनाएको छ ।

धारचुला कोतवाली प्रहरी, एसओजी र वन विभागको संयुक्त टोलीले बिहीबार धारचुलास्थित गलातीबाट धारचुलातर्फ जाँदै गरेका बुढाथोकीलाई २ किलो ३ सय ग्राम चरेस र १ सय ७५ ग्राम भालुको पित्तसहित पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका बुढाथोकी माथि एनडीपीएस ऐन ८ र २० अन्तर्गत लागुऔषध मुद्दा र वन्यजन्तु संरक्षण ऐन ४०, ४९, ५० र ५१ अनुसार धारचुला कोतवालीमा मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । उनलाई न्यायिक हिरासतमा पेस गरिएको भारतीय प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया