ब्रेक फेल भएको जिप घरभित्र पस्यो, चालक घाइते


हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा ब्रेक फेल भएर एक जिप दुर्घटनामा परेको छ । सिमकोट गाउँपालिका–५ काठेचुलीमा लु.प्र. ०१–००१ ज ०२८२ नम्बरको जिप स्थानीय पदमबहादुर रावतको घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।



जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, सिमकोट बजारबाट तल्लो गाउँतर्फ जाँदै गरेको उक्त जिपको अचानक ब्रेक फेल भएपछि अनियन्त्रित भई सडक छेउको घरमा पसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु श्रेष्ठले जिप रावतको घरको माथिल्लो तलामा ठोक्किएको जानकारी दिए ।

दुर्घटनामा जिप चालक खार्पुनाथ गाउँपालिका–१ का तीलक ऐडी सामान्य घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका बेला जिपमा चालक ऐडी मात्र थिए ।

जिप ठोक्किँदा घरको माथिल्लो तलाको एउटा कोठा पूर्ण रूपमा क्षति भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया