यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुको अधिकार संरक्षण गर्न सडक नाटक

सुर्खेत । समाजमा अझै पनि यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरु खुल्न सकिरहेका छैनन् । उनीहरूकाे अधिकार संरक्षण र समावेशिता प्रवर्द्धनका लागि विभिन्न प्रयास गरिएपनि अझै समाजका अगाडी खुल्न डराइरहेका छन् ।



तिनै यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरूलाइ खुल्नमा समस्या परिरहेकाे बेला उनीहरूलाइ समाजमा निधर्क खुल्ने वातावरण सिर्जनाका लागि “म को हुँ” भन्ने शिर्षककाे सडक नाटक प्रदर्शन गरिएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सोसेक नेपाल दैलेखको आयोजनामा वीरेन्द्रनगरका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिएकाे हाे । वीरेन्द्रनगरका मुख्य चाैक मंगलगढी, घण्टाघर, पीपीरा, एरीचौक लगायतको स्थानमा जनचेतनामूलक सडक नाटक प्रर्दशनी गरिएकाे परियोजना संयोजक प्रभा डाँगीले बताइन् ।

यौनिक तथा लैंङ्गिक अल्पसंख्यक ब्यक्तीहरुको अधिकार संरक्षण र समावेशिता प्रवर्द्धन सम्वन्धि कार्यक्रम अन्तर्गत स्थानीय दर्शकहरु माझ सडक नाटक प्रस्तुन गरिएको उनले जानकारी दिइन ।

नाटकको लेखन तथा निर्देशन पिपल्स एक्सेस नेपालले गरेको हाे । नाटकमार्फत हाम्रो समुदायमा रहेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा रहेको गलत धारणालाई स्पष्ट पार्नको लागि जनचेतना जगाउनु नाटककाे उदेश्य रहेकाे हाे।

साथै, उनीहरुको लागि समुदाय तथा परिवारमा सामाजिक स्वीकृतीको वातावरण तयार गर्नु, आफ्नो समुदायमा उनीहरुलाई सुरक्षित महशुस गराउनु र यौन अभिमुखिकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती र यौन विशेषताको बारेमा ज्ञान अभिबृद्धि गरिएकाे डाँकी बताउँछिन् ।

नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार सम्वोधन गरिसकेको भएतापनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार समेट्नको लागि कुनै छुट्टै कानुन, ऐन, नीति तथा कार्यविधि नवन्नु, विभिन्न समयमा भएका सर्वोच्च अदालतका फैसला, कानुनमा समेटिएका विषयहरु कार्यान्वयनमा समस्या हुनु, राष्ट्रिय तथा स्थानीय पाठ्यक्रममा स्पष्ट रुपमा नसमेटिनु जस्ता चुनौती अझै पनि रहेकाे नाटकका एक पात्र तथा सामाजीक अभियान्ता अन्जली बिसीले बताउछिन ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई परिवार तथा समुदायमा स्वीकार नगर्ने, घृणाको दृष्टिकोणले हेर्ने तथा विभिन्न लाञ्छना लगाउने जस्ता समस्याहरुले यस्ता व्यक्तिहरु आफ्नो लैङ्गिक पहिचानलाई लुकाएर दोहोरो जीवन जिउन बाध्य भएका विभिन्न उदाहरण जीवन्त रहेकाे उनकाे भनाइ छ ।

उनीहरुको अधिकार संरक्षण र समावेशिता अभिबृद्धि गर्नको लागि यस्ता जनचेतना मूलक कार्यक्रम गर्नुपर्ने कार्यक्रमका परियोजना संयोजक डाँगीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया