दैलेखका सुरेन्द्र मृत्यु प्रकरण : विदेशहुँदा विवाह गर्छु भनिन, काँशीकाँध बाेलाएर पुलबाट खसाइन्

सुर्खेत । दैलेखको छामघाट खोला किनारामा शव भेटिएका सुरेन्द्रबहादुर शाहीको हत्या गरेर खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत ११ साउनमा २८ वर्षीय शाहीको शव दुल्लु नगरपालिका–११, कयलकुनास्थित छामघाट खोला किनारमा फेला परेको थियो । तर दैलेख प्रहरीको अनुसन्धानबाट शाहीको हत्या नै गरिएको निष्कर्षसहित गंगा वन र उनका बुवाआमा विरुद्ध दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।




महावु गाउँपालिका–५ काँशीकाध बस्ने २७ वर्षीय गंगासहित उनका बुवा नैने र अमा भकु विरुद्ध मुद्दा अदालतमा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले नेपालकर्मलाई जानकारी दिए ।

‘सुरेन्द्रको शव भेटिएको मितिदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दै जाँदा गंगासहित बुवाआमा पनि संलग्न भएको देखियो,’ बराल भन्छन्, ‘प्रहरीले अनुसन्धान प्रक्रिया सकेर तीनै जना विरुद्ध मुद्दा अदालतमा दर्ता गरिसकेका छौं ।’

यस्तो छ घटना
११ साउन विहान ६ बजे सुरेन्द्रको शव दुल्लु नगरपालिका वडा नं. ११ कयलकुनास्थित छामघाट खोलाको किनारामा भेटियो । शरिरको तल्लो भाग नाग्गो र शरिरको माथिल्लो भागमा सेतो खैरो रंगको टिसर्टमा मात्रै थियो ।

प्रहरीले घटनास्थल मुचुल्का लगायतका कार्यहरु गरी सनाखतको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको शव पठायो । शव भेटिदा सुरेन्द्रको पहिचान खुलेको थिएन् । १२ साउनमा मात्रै उनी सुरेन्द्र भएको पहिचान खुलेको हो ।

१३ साउनमा जिल्ला प्रहरी कार्यालय दैलेखमा सुरेन्द्रका बुवा बुबा झक्कबहादुर शाहीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न भन्दै मुद्दा दर्ता गराए । सोही दिन सुरेन्द्रको शव पोष्टमार्टम गरेर आफन्तले अन्तिम संस्कारका लागि लगेका थिए ।

दैलेखका प्रहरी प्रमुख बरालले घटना शंकास्पद रहेको र आफन्तलेसमेत केही रहस्यमय जानकारी दिएकाले अनुसन्धानको दायरा फराकिलो पारे ।

‘बिभिन्न माध्यमवाट अनुसन्धान गर्दै जाँदा गंगाको संलग्नता रहेकी देखिने केही बलिया तथ्य फेला परे र उनलाई १४ साउनमा पक्राउ ग¥यौं,’ बराल भन्छन्, ‘अनुसन्धानको क्रममा घटनाको प्रतिवादी गंगासहित बुबा नैने र आमा भकुकोसमेत संलग्नता पाईयो । सबै प्रक्रिया सकेर अदालतमा मुद्दा दर्ता गरिसकेका छौं ।’

फेसबुकबाट साथी बनेकी गंगा र सुरेन्द्रको दुई वर्षसम्म प्रेम
सुरेन्द्र रोजगारीका लागि मलेसिया पुगेका थिए । ३३ महिनासम्म उनले उतै काम गरे । मलेसियाहुँदा नै सुरेन्द्र र गंगाको चिनजान फेसबुकबाट हुन्छ । दुई वर्षसम्म उनीहरुविच फेसबुकमा कुराकानी भइरहन्छ ।

‘साथी बनाई माया प्रेम गर्छु भनि बिबाह गर्नेसम्मको आश्वासन गंगाले दिएको देखिन्छ,’ बराल भन्छन्, ‘यो क्रममा गंगाले प्रलोभनमा पारी बिभिन्न बाहाना बनाई बिभिन्न मितिमा बिभिन्न माध्यमवाट चार लाख ४६ हजार ९२० रुपैयाँ ५३ पैसा आर्थिक लाभ सुरेन्द्रबाट लिएको अनुसन्धानबाट खुलेको छ ।’

आर्थिक लाभ लिइसकेपछि विस्तारै सुरेन्द्रबाट गंगा टाढिन खोजिन । विस्तारै गंगा टाढिन थालेपछि सुरेन्द्रले आफू नेपाल आउन लागेको जानकारी गराए । तर गंगाले सुरेन्द्रलाई फेसबुकमा अनफ्रेण्ड गर्नुको साथै मोवाईलमा ब्लक गरिन । सुरेन्द्र नेपाल नआइपुग्दै गंगा पासपोर्ट बनाएर विदेश जान भिसा लगाउन काठमाडौंसम्म पुगेको प्रहरी प्रमुख बराल बताउँछन् ।

नेपाल फर्किएका सुरेन्द्र गंगासँग सम्पर्क गर्न उनकै आफन्तबाट खोजी थाल्छन् । २ साउनमा सुरेन्द्र गंगा र उनका बुवाआमासँगको सम्पर्कमा गर्छन् । ‘हत्या गर्नेदिनसम्म तीनै जनासँग सुरेन्द्रको नियमित सम्पर्क भएको देखिन्छ,’ बराल भन्छन्, ‘बुबाआमाले गंगाको विवाह तपाईसंग गरिदिन्छौ भनेर १० साउन बोलाएको र सुरेन्द्र गएका रहेछन् । त्यहीँ दिन उनलाई झोलुंगे पुलबाट खोलामा फालेको वयान गंगाले प्रहरीलाई दिएकी छन् ।’

सुरेन्द्रलाई गंगाले महाबु गाउँपालिका–४ काप्रिखोला र ५ नम्बरमा पर्ने काँसीकाध जोड्ने रापटस्थित छामघाट खोला माथिको झोलुङ्गे पुलमा भेट्न बोलाउछिन् । सुरेन्द्र त्यहाँ पुगेपछि विस्तारै एकआपसमा झै–झगडा गर्छन् ।

र १० साउन राती ११ बजे सोही पुलवाट खोलामा खसाई कर्तव्य गरी मारेको प्रहरी अनुसन्धानबाट खुलेको हो । ‘सुरेन्द्रलाई मार्नु पूर्व नै ६ साउनमा गंगाका बुवा नैने र आमा भक्कुले सबै योजना बनाएको देखिन्छ,’ बराल भन्छन्, ‘अपराध गराउन सहयोग गरेको देखिएकोले नैने र भक्कलाई कसुरको अपराधिक षडयन्त्र, उद्योग, दुरूत्साहन र मतियारको कारवाहीको राखिएको छ ।’

गंगाको हकमा कर्तव्य ज्यान तथा आपराधिक लाभ मुद्धामा कारवाहीको मागसहित प्रहरीले मुद्दा अदालतमा दर्ता गरेको हो । दैलेख जिल्ला अदालतक श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले थुनछेक बहस भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया