नेपाल प्रहरी लैङ्गिक बिभेदका बिरुद्धमा छ : प्रहरी महानिरीक्षक थापा

सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी लैङ्गिक समावेशीकरणसँगै महिला सशक्तिकरणको नयाँ यात्राको अभियानमा रहेको बताएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।



प्रहरी महानिरीक्षक थापाले लैङ्गिक सम्वेदनशीलतालाई आत्मसात गर्दै नेपाल प्रहरीले महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि प्रभावकारी सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताए । ‘नयाँ भवनबाट महिला बालबालिका तथा जेष्ठ नागरिकलाई उच्च प्राथमिकता दिँदै प्रभावकारी सेवा प्रवाह गर्नसमेत मातहतका प्रहरी कर्मचारी लाग्नुपर्छ,’ उनले भने,‘प्रहरी कर्मचारीमा नागरिकको सुरक्षा र अन्य भरोषाका बिषय जोडिएका छन् ।’

ईलाका प्रहरी कार्यालय छिन्चुमा एक कोठाबाट मात्रै सेवा दिइएकोमा अब आफ्नै भवन हुँदा सेवा प्रवाह थप सहज हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीले बताए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन बनेसँगै अब सेवा लिन भएका नागरिकलाई बास बस्न समेत सहज हुनेछ । दुई तले नवनिर्मित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवनमा मिटिङहलसहित ११ वटा कोठा रहेका छन् ।

भवन फर्निचरसहित तीन करोड ३५ लाख २७ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया