सुर्खेत । मजदुरीका लागि भारतको उत्तराखण्ड पुगेकी सुर्खेतकी एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ । बुधबार राति जिल्लाको बराहताल गाउँपालिका–८, भट्टेघारीकी सुनिता सुनारको मृत्यु भएको हो ।
उनी आफन्तसँग निर्माण मजुदरका रुपमा काम गर्न गत ७ साउनमा रोपाई सकेर उत्तराखण्डस्थित अलमुढा बजार पुगेकी थिइन । स्थानीय मदन भण्डारीका अनुसार गए राति एक्कासी पेट दुख्ने समस्या देखापरेपछि उनलाई अलमुढास्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।


उनका अनुसार उपचारका क्रममै उनको मृत्य भएको हो । उनको शव नेपाल ल्याउने तयारी रहेको भण्डारीले बताए । आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छाडेकी सुनिता दशै खर्च जुटाउन छिमेकीसँग भारत गएकी थिइन ।

बुवाआमाको शारीरिक अस्वस्थताले घर खर्च चलाउन गारो परेपछि उनी भारत गएकी हुन् । खेत बारीको उत्पादनले ६ महिनापनि खान नपुग्ने उनको परिवारको मुख्य आय स्रोत नै दैनिक ज्याला मजदुरी हो ।
सुनिताको मृत्युले उनको परिवारमा सन्नटा छाएको छ । गाउँमै काम नपाएपछि मजदुरी गर्न घर छाडेकी एक मात्र छोरी सुनिताले भारतमै प्राण त्यागेपछि उनका ७१ वर्षीय बुवा कविराम सुनार र उनकी आमा पीडामा छन् ।
सुनिताकाे शव भारतबाट शनिवार भट्टेघारी घरमा ल्याएर अन्तिम संस्कार गरिएकाे छ ।

नेपाल कर्म । ८ भाद्र २०८२, आईतवार १९:१२