सुर्खेत । विन्डपावर नेपाल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा ‘पेओर प्लेटफर्म ः सिँचाइ योजनाका लागि डिजिटल नवप्रवर्तन’ विषयक कर्णाली प्रदेशस्तरीय एक दिने कार्यशालासम्पन्न भएको छ । शुक्रबार (८ अगस्ट २०२५) सम्पन्न भएको कार्यशालामा पेओर प्लेटफर्ममार्फत नेपालभर डेटामा आधारित सिँचाइ योजना सञ्चालन गर्न सकिने सम्भावनाका बारेमा प्रदेश र स्थानीय सरकारका कृषि क्षेत्रका सरोकारवालालाई जानकारी दिइएको हाे ।

उक्त प्लेटफर्मलाई सरकारका तीनै तहमा कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा पनि सरोकारवालाहरुसँग अन्तरक्रियात्मक छलफल भएको थियो । अन्तरक्रियाको सहजिकरण इसिमोडका इन्टरभेन्सन म्यानेजर अभिषेक मल्ल र जिआइएस एनालिष्ट सुजन नेपालीले गरेका थिए । इसिमोडका जिआइएस एनालिष्ट सुजन नेपालीले पेओर प्लेटफर्मका बारेमा जानकारी गराएका थिए ।

‘पेओर प्लेटफम एक डिजिटल निर्णय समर्थन उपकरण हो, जसले नेपालको विविध भूगोलमा पानी उठाउने प्रणालीलाई अनुकूल बनाउन र सिँचाइ रणनीतिलाई सुधार गर्न सहयोग गर्छ,’ उनले भने । उनले नेपालको कृषि क्षेत्रमा करिब ६० प्रतिशत श्रमशक्ति संलग्न भए पनि कुल राष्ट्रिय उत्पादनमा मात्र २४ प्रतिशत मात्रै योगदान रहेको बताए ।
उनका अनुसार सिँचाइ योग्य २५ लाख हेक्टर जमिनमध्ये हालसम्म करिब ३५ प्रतिशत मात्र जमिनमा वर्षभरि सिँचाइको सुविधा पुगेको छ । यसले किसानलाई मौसमी वर्षामा निर्भर बनाएको छ भने जलवायु परिवर्तनको जोखिम पनि बढाएको उनले बताए ।

विशेषगरी पहाडी भौगोलिक अवस्थाले सिँचाइ विकासमा चुनौती सिर्जना गरिरहेको अवस्थामा नदी तथा खोलहरुबाट वैकल्पिक सिंचाई विकास प्रणाली आवश्यक रहेको उनले बताए । यसै परिप्रेक्ष्यमा इसिमोड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पेओर प्लेटफर्म विकास गरेको उनले जनाए ।
यसले उपग्रह डेटा, नक्शा म्यापिङ र बहु–मापदण्ड मूल्याङ्कन प्रयोग गरी पानी उठाउने प्रणालीका लागि उपयुक्त स्थान पहिचान गर्न सहयोग गर्ने नेपालीले बताए । हालसम्म विभिन्न परियोजना डिजाइन र कार्यान्वयनमा प्रयोग हुँदै आएको यो उपकरण प्रभावकारी देखिए पनि यसको उपयोगबारे जागरूकता र संस्थागत क्षमता सीमित रहेको आयोजकहरूको भनाइ छ ।
यही खाडल हटाउन र सरोकारवालालाई उपकरणको फाइदा तथा प्रयोगबारे जानकारी दिन प्रादेशिक स्तरमा संवेदनशीलता कार्यशाला आयोजना गरएको विन्डपावरले जनाएको छ ।
कार्याशालामा सुर्खेतको गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्तबहादुर पुन, लेकवेशी नगरपालिकाका कृषि शाखाका प्रतिनिधि, बराहताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता थियो । यस्तै, प्रदेश सरकार मातहतका सिंचाई हेर्ने निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाल कर्म । २६ श्रावण २०८२, सोमबार २०:०६