
सुर्खेत । कर्णालीका दुर्गम क्षेत्रका हवाई उडानलाई नियमित बनाउने पहलकदमी लिएर संघीय राजधानी काठमाडौंको सिंहदरबार गएका मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले संघीय पर्यटनमन्त्री र विमान कम्पनी सञ्चालकसँग छलफल गरेका थिए । शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित बृहत् छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले जहाज अपुग भएको जवाफ दिएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने हवाई उडान नियमित बनाउन संघीय सरकारको ध्यानाकर्षण गराएको थियो । छलफलमा मुख्यमन्त्री कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश मन्त्रीहरूका साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । छलफलका क्रममा सहभागीले कर्णाली प्रदेशका पहाडी जिल्लामा भर्खरै मात्र सडक सञ्जाल पुगेको र भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राखेका थिए । मुख्यमन्त्री कँडेलले प्रदेश सरकार हातेमालो गर्न तयार रहेको भन्दै स्पष्ट कार्ययोजना बनाउन आग्रहसमेत गरेका थिए । उनले अनुमति लिँदाको समयमा गरिएको प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिँदै सुर्खेत विमानस्थललाई ‘ट्विनअटर हब’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।


ट्विनअटर जहाज सञ्चाल गर्ने सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ भएको बताए । एक प्रतिनिधिले सुर्खेतलाई आधार बनाएर केही उडान गरिरहेको जानकारी दिँदै जुम्ला, सिमिकोटलगायत क्षेत्रमा यात्रु भेटिए मात्र उडान गर्नुपर्ने बाध्यता रहेको बताए । राज्यले विशेष सहुलियत दिनुपर्ने माग पनि ती प्रतिनिधिको थियो ।
पर्यटनमन्त्री बद्री पाण्डे र विमान सञ्चालकले असमर्थता देखाए पनि नागरिक उड्डयन प्राधिकरणले भने विकल्पसहित सम्भावना देखाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए । उनका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै अन्य निजी कम्पनीलाई समेत सामेल गरेर सुर्खेतबाट विभिन्न दुर्गम जिल्लामा नियमित उडान गर्न सकिनेछ । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले ट्विनअटर जहाजको कमीका कारण दुर्गम जिल्लामा सेवा विस्तार गर्न नसकिएको भन्दै प्राधिकरणको विकल्प नै ओझेलमा पारे । उनले भने, ‘सम्बन्धित निकायसँग प्राविधिक छलफल गरेर मात्र सुर्खेतलाई आधार बनाएर उडान सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने टुंगोमा पुग्नेछौँ ।’
नेपाल कर्म । ८ भाद्र २०८२, आईतवार १६:०१