सत्ता साझेदारका प्रमुख नेतासँग भेट्नु मेरो कर्तव्य हो, उजूरबाजुर गर्न गएकाे हैन : कडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कडेलले सत्ता साझेदार दलका प्रमुख नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको फोटा सार्वजनिक गरे । मुख्यमन्त्री र छोरी प्रतिक्षा कडेलसहित बिहीबार विहान ९ः३० बजे पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवा निवास बुढानिलकण्ठमा भेट्न गएका हुन् ।



मुख्यमन्त्रीले फोटा सार्वजनिक गर्दै भनेका छन्, ‘भेटमा समसामयिक राजनितिसंगै, कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भयो। महत्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री ज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु।’

उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको फोटो सुर्खेतका स्थानीय काँग्रेस नेता किरण वलीले सेयर गरेका हुन् । तिनै वलीले सेयर गरेको पोष्टमा पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘मलाई जीवनले आजै हट भोलि नै हट भनेर रिपोर्टटिङ गर्नु भएछ त’ भन्दै प्रतिक्रिया दिएका छन् ।

देउवालाई मुख्यमन्त्री कडेलले भेट गरेपछि पूर्व मुख्यमन्त्री शाही पुगेका थिए । शाहीले दिएको प्रतिक्रिया जस्तो विषयमा मुख्यमन्त्री कडेलले कुनै प्रशंग नै नउठेको बताए । ‘समग्र कर्णालीकै विषयमा चर्चा गरिएको सत्य हो । तर उहाँले लेखे जसरी कुनै कुरा नै उठेन । सत्ता साझेदार दलका प्रमुख नेतासँग भेट्नु मेरो कर्तव्य  हो । उजुर वाजुर र प्रश्न उठाउन त्यहाँ गएको हैन् ।’

देउवा र कडेलविच झण्डै १५ मिनेट भेट भएको थियो । ‘आजै हट, भोली नै हट भन्ने सवाल त्यहाँ भएन । यो वेतुकको तर्क हो,’ कडेलले भने । कांग्रेस–एमाले मिलेर बनेको कर्णाली सरकारले एक वर्ष पूरा गरे पनि यी दुई दलबीचको सम्बन्ध अझै सुध्रन सकेको छैन ।

तपाईको प्रतिक्रिया