विनोद गिरीमाथि गोली हान्न लगाउने मुख्य योजनाकार सन्तोषलाई दुई वर्षको कैद सजाय

सुर्खेत । तरुण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहारको प्रयास भएको घटनाका मुख्य योजनाकारलाई दुई वर्षको कैद सजाय अदालतले तोकेको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीस दीपक ढकालको एकल इजलासले मुख्य योजनाकार सन्तोष गिरीसहित चार जनालाई कैद र जरिवानाको फैसला गरेको हो ।



गिरीलाई सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानामा दुई वर्ष कैद र २० हजार जरिवाना तथा अभद्र व्यवहारतर्फ थप एक महिना कैद र १० हजार जरिवनासहितको फैसला अदालतले गरेको सूचना अधिकारी उज्जल रावलले नेपालकर्मलाई जानकारी दिए ।

सोही मुद्दामा इन्द्रबहादुर वि.क., रोहित राजपुत र भरत पाण्डेलाई ज्यान मार्ने उद्योगतर्फ दुई वर्ष कैद तथा जनही २०-२० हजार जरिवानाको फैसला भएको रावलले बताए ।

वि.क., राजपुत र पाण्डेले इजाजत विना हतियार चलाएको भन्दै थप दुई वर्ष कैद र जनही २० हजार जरिवाना अदालतले तोकेको छ । राजन गिरीको मतियार रूपमा एक वर्ष १ महिना १५ दिन कैद र १० हजार जरिवाना फैसला अदालतले गरेको रावलले जनाए ।

भरत भुल र सुरेन्द्र शाहीलाई भने एक वर्ष कैदको फैसला तोकिएको छ । तर राजन र भुलले कैद तोकिएको अवधि भुक्तान गरिसकेकाले छुटेका छन् ।  शाहीकाे कैद भुक्तान अवधि यहीँ भदाै ७ गते पुग्दैछ ।

वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा १२ फागुन २०८० मा साँझ गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए ।

प्रहरीले फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो । प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्तिको रुपमा सार्वजनिक गरेको थियो । उनीहरु विरुद्ध अदालतमा २७ चैत २०८० मा मुद्दा दर्ता गरिएको थियो ।

तपाईको प्रतिक्रिया