सुर्खेत । कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले मौसमको कार्यालय सुर्खेत सार्न अनुरोध गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कडेलको अध्यक्षतामा विषयगत मन्त्रालयहरुको विभिन्न मितिमा बसेको बैठकले कोहलपुरमा रहेको जल तथा मौसम विज्ञानको कार्यालय सुर्खेतमासमेत स्थापना गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाई विकास मन्त्रालय मातहतमा रहेको उक्त कार्यालय यसअघि सुर्खेतमै रहेको थियो । मन्त्रालयले पछि सुर्खेतबाट सारेर कार्यालय कोहलपुरमा स्थापना गरेको हो ।

कर्णालीमा विपदजन्य घटना बढी हुने र तत्काल त्यसको जानकारीसँगै पूर्व तयारीका लागि प्रदेश र स्थानीय सरकारलाई सहज हुने भएकाले सुर्खेतमै कार्यालय स्थापना गर्नुपर्ने माग सरकारको छ ।
बैठकले स्थानीय सेवाका कर्मचारीहरुको अभिलेख व्यवस्थापन प्रणाली सञ्चालनमा नरहेकाले प्रदेश सरकारलाई हस्तान्तरण गराउन अनुराेध गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि राष्ट्रिय किताबखाना (निजामती) बाट व्यवस्थापन प्रणाली प्रदेशमा हस्तान्तरणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिनेछ ।

साथै, संघीय मन्त्रालयबाट खटनपटन गरिँदै आएकोमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले खटाउने व्यवस्था गर्न पनि पत्राचार गरिएको छ ।
संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गर्न बाँकी रहेका कानुन तत्काल निर्माण गर्ने, जाजरकोटमा भुकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यालाई यथाशिघ्र सम्पन्न गर्न संघीय सरकारलाई अनुरोध गर्ने र दैलेख, सल्यान, रुकुम पश्चिम र हुम्ला जिल्लामा निर्माधिन अस्पतालको भवनको प्राविधिक काम सम्बन्धित पूर्वाधार कार्यालयबाट गराउन संघीय सरकारलाई बैठकले अनुरोध गर्ने निर्णय गरिएको छ ।
सुर्खेत विमानस्थलबाट कर्णालीका दुर्गम जिल्लाहरुमा हुने हवाई उडानलाई नियमित गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई अनुरोध गर्ने र कालिकोटमा रहेको त्रिवेणि पाटनको विवाद समाधानका लागि सुदूरपश्चिम सरकारसँग समन्वय, छलफल र परामर्श गर्ने निर्णय बैठकले गरेको छ । वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधानका लागि निर्माणाधिन भेरी पम्पिङ आयोजनाको काम समयमै सम्पन्न गर्न अनुरोध गर्ने पनि उल्लेख छ ।

नेपाल कर्म । २ भाद्र २०८२, सोमबार १७:४२