विपन्नको उपचारमा बीस हजारसम्म यातायात खर्च उपलब्ध गराउँदै प्रदेश सरकार


वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले विपन्न तथा असहाय नागरिकका लागि यातायातवापतको भाडा उपलब्ध गराउने भएको छ । सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षबाट लागू हुने गरी भूगोल अनुसार पाँच हजारदेखि बीस हजारसम्म उपचार खर्च वा भाडा उपलब्ध गराउने भएको हो ।



बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसकेका बिरामीहरुलाई उपचार तथा यातायात खर्च सहयोगका लागि यो कार्यक्रम राखिएको मन्त्री घनश्याम भण्डारीले बताए । ‘बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसकेका बिरामीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्नु प्रमूख् उदेश्य हो,’ उनले भने, ‘कर्णालीका अधिकांश नागरिकले आर्थिक अभाव भएकै कारण उपचार गर्न नपाएको जनगुनासो आइरहेको समयमा हामीले यो कार्यक्रम ल्याएका हौँ ।’

उनका अनुसार यो सुविधा लिनका लागि वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस भई मन्त्रालयमा निवेदन दिएपछि बमोजिम पाँच हजारदेखि बीस हजारसम्म भौगोलिक दुरीका आधारमा यातायात खर्च मन्त्रालयले उपलब्ध गराउने भएको छ ।

त्यसका लागि मन्त्रालय चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया