
सुर्खेत । राप्रपा सुर्खेतका जिल्ला कार्य समिति अध्यक्ष कबिराम पुरी विरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । पार्टीका उपाध्यक्ष लक्ष्मीकुमारी सार्की (अन्जु बस्याल) को अध्यक्षतामा बुधबार बसेको बैठकले दुई तिहाइ सदस्यको उपस्थितिमा प्रस्ताव पारित गर्दै राप्रपा कर्णाली प्रदेश कार्य समितिमा पेश गर्ने निर्णय गरेको हो ।
जिल्ला कार्य समितीका बहुमत सदस्यहरुले अध्यक्ष पुरीले २०७८ सालदेखि हालसम्म बैठक नियमित रूपमा बसाल्न नसकेको, आफ्ना गतिविधि पार्टीभन्दा व्यक्तिगत रूपमा सञ्चालन गर्न खोजेको, संगठन विस्तारमा योगदान नदिएको जसका कारण सक्रिय सदस्य संख्या घट्दै गएको कारणले अविश्वास प्रस्ताव पेश गरिएको बताएका अविश्वासको प्रस्ताव पेश गर्ने सदस्यहरुले आरोप लगाएका छन् ।
त्यसैगरी, राप्रपा सुर्खेतको पार्टी कार्यालयमा युवा संगठनले लगाएको तालाबन्दीबारे औपचारिक धारणा नदेखाएको र युवा संगठनका मागलाई सम्बोधन गर्नुको सट्टा पार्टीलाई कमजोर बनाउने गतिविधिमा अध्यक्ष पुरी सक्रिय रहेको आरोप पनि लगाइएको छ ।


दुई तिहाइ सदस्यको बहुमतबाट अविश्वास प्रस्ताव स्वीकृत भएसँगै अध्यक्ष पुरीलाई पदमुक्त गर्दै आगामी जिल्ला अधिवेशनसम्मका लागिसम्म उपाध्यक्ष लक्ष्मीकुमारी सार्कीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै, यो निर्णय राप्रपा कर्णाली प्रदेश र केन्द्रीय कार्यालयमा जानकारी गराउने पनि निर्णय भएको छ।

नेपाल कर्म । २८ श्रावण २०८२, बुधबार १३:५३