
सुर्खेत । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कर्णाली प्रदेशमा ‘समृद्ध कर्णालीका लागि युवा’ भन्ने विषयमा प्रदेशस्तरीय बहस हुने भएको छ । कार्यक्रम कर्णाली युथ सोसाइटीको आयोजनामा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार हुनेछ ।
कर्णाली युथकी अध्यक्ष सुप्रिया शाहीले ‘अब युवालाई सुनौं’ भन्ने मूल नारासहित प्रदेशभरिका युवाको विचार, सुझाव र भूमिकालाई नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताइन् । उनकाअनुसार बहसमा ६ जना युवा व्यक्तहरु रहेछन् ।

व्यक्ताहरुमा मनोसामाजिक परामर्शकर्ता शर्मिला बिसी, रवीकिरण हमाल, प्रतिमा केसी, दिपेश शाही ठकुरी, प्रकाश खड्का र आदर्श विक्रम सिंह ठकुरी छन् । उनीहरुले कर्णालीको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक विकासमा युवाको भूमिका र सम्भावनाबारे धारणा प्रस्तुत गर्नेछन् । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा लगायत अन्य प्रदेश सांसदहरूको पनि उपस्थिति रहने अध्यक्ष शाहीले बताइन् ।
बहस कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट युवा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।


नेपाल कर्म । २५ श्रावण २०८२, आईतवार १६:४२