सुर्खेत । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा अन्तर प्रदेश संसाधन साझेदारी विषयक दुई दिने कार्यशाला तथा अन्तर विषयगत क्षेत्र बैठक सम्पन्न भएको छ । बुधबारबाट वीरेन्द्रनगरमा सुरु भएको कार्यशालामा अन्तर प्रदेश संसाधन साझेदारी सञ्चालन कार्यशालाको औचित्य, नीतिगत व्यवस्था, क्षमता विकास आवश्यकता, प्रशिक्षण कार्यक्रम, सीप, ज्ञान र असल अभ्यासका बारेमा छलफल भएको थियो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजना तथा शहरी बिपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर–२) को प्राविधिक सहयोगमा विपद् न्यूनिकरण तथा व्यवस्थापनमा अन्तर प्रदेश संशाधन साझेदारी विषयक दुई दिने कार्याशाला आयोजना गरिएको हो ।

कार्यशालाको स्थानीय साझेदारी सुन्दर नेपाल संस्थाले गरेको थियो भने, कार्यशालाको सहजिकरण नेपाल सरकारका पूर्व सचिव शंकरहरि कोइरालाले गरेका थिए । यस्तै, कार्याशालाको दोस्रो दिन बिहिबार अन्तर प्रदेश संसाधन साझेदारी सञ्चालन निर्देशिका र समझदारी पत्रको ढाँचाका बारेमा सरोकारवाला बिच गहन छलफल भएको थियो ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयनको अवस्था यस वर्षको मनसुनजन्य विपद्का घटना र प्रभावका बारेमा छलफल भएको थियो । सहभागीहरुले कर्णाली प्रदेशको बुहपर्कोपिय विपद्को पूर्व तयारी र विपद्पछिको प्रतिकार्यमा अपनाउन सकिने रणनीतिका सुझाव दिएका थिए ।

कार्यशालामा आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन शाखाका कर्मचारी, विपद् न्यूनिकरण तथा व्यवस्थापनमा काम गर्ने विकास साझेदार संस्थाका प्रतिनिधि, तीन वटै सुरक्षा निकायका प्रतिनिधि, रेडक्रस तथा नागरिक समाजका अगुवाहरु सहभागी थिए ।
कार्यशालाको समापन समारोहमा बोल्दै आन्तरिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले विपद्जन्य जोखिमबाट बच्न सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताए ।
उनले यस वर्षको मनसुनजन्य विपद्बाट एक लाख बढी जनसंख्या प्रभावित हुन सक्ने आँकलनका साथ प्रदेश सरकार तयारी अवस्थामा रहेको बताए । अन्तर प्रदेश साझेदारी कार्याशालाबाट विपद् व्यवस्थापनमा प्रत्यक्ष र परोक्ष सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन, सुन्दर नेपाल संस्थासँगको साझेदारीमा कर्णालीमा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्वतयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

नेपाल कर्म । २२ श्रावण २०८२, बिहीबार १८:३७