सुर्खेत । सुर्खेत पश्चिम जोड्ने मुख्य मार्ग बड्डीचौर–खम्बगाडे सडक किनाराका रुख कटान पूर्वको काम अन्तिम चरणमा पुगेको छ । ठेक्क व्यवस्थापन गरिएको तर प्रक्रियागत त्रुटीले अलपत्र जस्तै बनेको सडक किनाराका रुख कटान गर्न तीन वर्षपछि सम्झौता भएको थियो । डिभिजन वन कार्यालय भेरीले अहिले सडक किनाराका रुखको अन्तिम लगतसँगै कटान गर्नुपर्ने रुखहरुको छपान गरिरहेको छ ।

वन पैदावर संकलन तथा विक्री वितरण निर्देशिका, २०७३ परिच्छेद ३ मा रुख कटान, मुछान, ढुवानी तथा घाटगद्दी सम्बन्धी व्यवस्था छ । प्रक्रियाअनुसार कटानका लागि सम्झौता भएका रुखलाई छपान गर्नुपर्ने भएकाले अहिले काट्नु पर्ने रुखहरुमा टाँचा लगाउने काम भइरहेको सव–डिभिजन कार्यालय बड्डीचौर सुर्खेतका प्रमुख गणेश खाम्चाले जानकारी दिए ।
‘सबको चासो र सरोकारको विषय जोडिएको सडकको भएकाले होला छिटो सक्नुप¥यो भन्ने दवाव दैनिक आइरहन्छ,’ खाम्चाले भने, ‘हामीले निर्देशन पाएको दिनदेखि नै नियमित काम गरिरहेका छौं, आइतबारसम्म सबै काम सकेर फायल डिभिजन वन कार्यालय भेरी बावियाचौर सुर्खेतमा बुझाउछौं ।’

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अनुसार सडक किनाराका कटान गर्नुपर्ने रुखहरुको अन्तिम पटक लगत र छपान लिनुपर्ने हुन्छ । ‘धेरैले सम्झौता भइसक्यो त किन रुख काटेको छैन् भन्नुहुन्छ । तर वन नियमअनुसार प्रक्रिया सबै पूरा गरेर रुख कटान गर्ने हो,’ खाम्चाले भने, ‘वर्षौंदेखि अलपत्र परेको सडकले नागरिकलाई निकै सास्ती दिइरहेकाले हामीले छपान र लगत एकै पटक गरेर कटान प्रक्रियामा छिटो लैजाने गरी युद्धयुस्तरमा काम गरिरहेका छौं ।’
बड्डीचौर–खम्बगाडे सडक निर्माणका लागि कर्णाली प्रदेश सरकारले १४ असार २०७९ ठेक्का आह्वान गरेको हो । तर सडक निर्माण पूर्व गरिनुपर्ने कानुनीगत प्रक्रिया पूरा नगरेर ठेक्का व्यवस्थापन गर्दा सडक निर्माणले गति लिन सकेको छैन् ।
संघीय सरकारको स्वामित्वको सडक हुनु र रुख कटानका अल्झन जस्ता कारणले १५ असार २०८१ मा कालोपत्रे सक्ने लक्ष्य राखिएपनि अपेक्षाकृत काम हुन सकेको छैन् । बड्डीचौर–खम्बगाडे सडकको दुरी १३ किलोमिटर छ ।
सडकमा पर्ने ८६४ वटा विद्युतका पोल र रुख हटाउन साउन पहिलो हप्ता वन तथा भू संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको पूवाधार विकास निर्देशनालयविच त्रिपक्षीय सम्झौता भएको हो ।
सडक किनाराका रुख कटानका जिम्मा निर्माण व्यवसायीले नै काट्ने गरी ठेक्का व्यवस्थापन भएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रमुख सूर्यबहादुर शाही बताउँछन् ।

‘निर्माणकै चरणदेखि विविध समस्याहरु सिर्जना भए,’ शाही भन्छन्, ‘प्रक्रियागत रुपमा विवाद समाधानसँगै भदौ भित्रै रुख कटान सक्नेगरी वनसँग समन्वय गरेर काम गरिरहेका छौं ।’
अहिले बड्डीचौर बजारदेखि गिभिनेसम्म झण्डै ६ किलोमिटर र खम्बगाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्ट वाल र कल्भर्ट निर्माण गरिएको छ । सडक ट्याक खोलीको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रे गर्न तीन खण्डमा काम भइरहेको छ ।
मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको पहिलो खण्डअन्तरगत बड्डीचौरदेखी कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ ।
जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि अनकले निर्माणको पूरै जिम्मेवारी लिएको छ । आगामी असारसम्म १३ किलोमिटर सडक कालोपत्रे सक्ने वचन दिएको निर्माण व्यवसायी अनकलाई अन्तिम पटक म्याद थप निर्देशनालय गरेको छ ।
बड्डीचौरलाई शून्य विन्दु मानेर तीन वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो ।
खम्बगाडे–बावियाचौर र बावियाचौर–विद्यापुर १० किलोमिटर सडक निर्माणको जिम्मा डिभिजन सडक कार्यालय सुर्खेतले लिएको छ । चौर खोला–विद्यापुर १० र बल्दे–लगाम १५ गरी २५ किलोमिटर सडक निर्माण जिम्मा दिवा यती जेभी काठमाडौंले पाएको छ ।
यस्तै, विद्यापुर–गुटु–विजौरा–बल्दै २२ किलोमिटर सडक निर्माण गर्न १७ फागुन २०७९ बाट शुरु गरिएको छ । एक अर्ब २१ करोड लागतमा रहेको सडकको निर्माण जिम्मा बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौंले पाएको छ । यो सडक २०८२ फागुन १६ गतेसम्म सक्ने लक्ष्य छ ।

सुशील खड्का । २२ श्रावण २०८२, बिहीबार १५:४४