
सुर्खेत । कर्णाली प्रदेशसभा चालू अधिवेशन बुधबार राती १२ बजेबाट अन्त्य गर्ने कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले चालू वर्षे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो ।
बैठकले सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश बमोजिम जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।


यसका साथै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गरिएको छ । स्वीकृत कार्यबिधि अनुसार कार्यविधि अनुसार पत्रकारिता पेशामा दुई दशकदेखि क्रियाशिल रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा विशेष योगदान पु¥याएका एक जनालाई कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । जसको राशी ७५ हजार रहेको छ । पत्रकारितामा पेशमा सात वर्षदेखि क्रियाशिल रहेका एक जनालाई ५० हजार राशीको कर्णाली वर्ष उत्कृष्ट पुरस्कार प्रदान गर्नेछ । त्यस्तै पत्रकारिता पेशामा पाँच वर्षदेखि क्रियाशिल एक जनालाई कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरिनेछ । जसको राशी ३५ हजार रहेको छ भने कर्णाली विकास पत्रकारिता र समावेशी पत्रकारिता पुरस्कार जनही २र२ जनालाई प्रदान गरिनेछ । ती पुरस्कारको राशी समान ३५ हजार रहेको छ ।
यस्तै सूचनाको हकसम्बन्धी कार्यान्वयनको प्रभावकारिता मूल्याङ्कन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति गठन गरिएको छ । उक्त समिति प्रदेशका विभिन्न कार्यालयमा सूचनाको हक लागू भए नभएकोबारे अनुगमन गर्नेछ ।

नेपाल कर्म । २१ श्रावण २०८२, बुधबार १३:०५