भक्तजनसँग डाक्टर पनि


कालिकोट । पश्चिम नेपालको पवित्र धार्मिक गन्तव्य बडिमालिका माताको दर्शनमा गइरहेका भक्तजनहरूको स्वास्थ्य सुरक्षाका लागि कालिकोटको रास्कोट नगरपालिकाले डाक्टरसहितको टोली खटाएको छ ।



बडिमालिका चार हजार दुई मिटर उचाइमा रहेको कठिन धार्मिक स्थल हो । यहाँ लेक लाग्ने, दम बढ्ने, वा आकस्मिक स्वास्थ्य समस्या देखिने सम्भावना उच्च हुने भएकाले रास्कोट नगरपालिकाले पहिलोपटक सक्रियता देखाएको हो ।

नगर प्रमुख धर्मराज शाहीका अनुसार नगर अस्पतालका डा. कमल प्रसाद बराल, जनकराज न्यौपाने, नागराज बराललगायत पाँच सदस्यीय टोली औषधिसहित आइतबार बडिमालिकातर्फ प्रस्थान गरेको हो । टोलीले तीर्थयात्रीहरूलाई यात्रा अवधिभर प्राथमिक उपचार सेवा उपलब्ध गराउनेछ ।

प्रहरीका अनुसार रास्कोटको बाटो हुँदै हालसम्म एक हजार पाँच सयभन्दा बढी श्रद्धालु बडिमालिका पुगेका छन् । यसपालि कालिकोटबाट डोलीसहितको सरकारी टोली, पुजारी र जनप्रतिनिधिहरू पनि औपचारिक रूपमा गएका छन् ।

तपाईको प्रतिक्रिया