दैलेखी परम्परागत लाखे नाच सुर्खेतमा देखाइदै, यस्ताे छ रूट

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैलेखी परम्परागत लाखे नाच प्रस्तुत गरिने भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा साउन १९ र २० गते दुई दिनसम्म ‘परम्परा र कला संस्कृतिको उत्थान गर्न लाखे नाच प्रदर्शन गर्न लागिएकाे हाे ।



लाखे नाचको माध्यमबाट मौलिक कला, संस्कृति र परम्पराको जर्गेना गर्दै नयाँ पुस्ताबीच जागरूकता फैलाउने उद्देश्य लिइएको छ। कार्यक्रममा दैलेखबाट आएका भगवती क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबका तीन लाखे समूहले नाच प्रस्तुत गर्नेछन्।

साउन १९ गते दिउँसाे २ बजेबाट लाखे नाच शुरू गरिने छ ।  कालिन्चोकमा रहेकाे कृष्ण मन्दिरबाट शुभारम्भ गरिने लाखे नाच त्यसपछि घण्टाघरकाे खुला पार्क भएर लाटीकोइली डाँडाहुँदै साँझ ५ बजे मंगलगढी चोकबाट गणेश चोकसम्म नाच प्रदर्शन गरिने समाजसेवी सुशील केसीले जानकारी दिए ।

साउन २० गते मंगलबार वीरेन्द्रनगरका विभिन्न बजार, विद्यालय, होटल तथा टोलहरुमा माग अनुसार लाखे नाच देखाइने उनले बताए । परम्परागत रूपमा वर्षेनी देखाइने लाखे नाच यसपटक विशेष रूपमा वीरेन्द्रनगरमा प्रदर्शन गरिँदैछ।

लाखे नाच हेर्न पाउने अवसरले यहाँका स्थानीयवासी र विद्यार्थीहरूमा पनि सांस्कृतिक चेतना र चासो बढ्ने विश्वास आयोजक दैलेखी सेवा समाजले व्यक्त गरेको छ।वीरेन्द्रनगरमा दैलेखको मौलिक सांस्कृतिक धरोहर प्रस्तुत हुनुले स्थानीयस्तरमा कला–संस्कृतिको आदानप्रदान र सिकाइको अवसर समेत प्रदान गर्ने समाजकाे विश्वास छ ।

तपाईको प्रतिक्रिया