सरुवाले मध्यपश्चिम विश्वविद्यालयमा भाँडभैलो, उपकुलपति र रजिष्ट्रार कार्यालयमा तालाबन्दी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा पुनः किचलो बढेको छ । स्थापनाकालदेखि नै कुनै न कुनै आन्दोलनका कारण विछिप्त बन्दै आएको विश्वविद्यालयमा पुनः किचलो शुरु भएको हो ।



पछिल्लो पटक मध्यपश्चिम विश्वविद्यायले हचुवाको भरमा कर्मचारीहरुको सरुवा गरेको भन्दै भाडभैलो शुरु भएको छ । तीन कर्मचारी संघ संगठनले अव्यहारिक रुपमा सरुवा गरेको भन्दै उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् ।

सेवाप्रति बफादार भई अनवरत रूपमा तोकिएको जिम्मेवारी अनुसार कार्यसम्पादन गरिरहेको अवस्थामा उपकुलपति र रजिष्ट्रारले हचुवाको भरमा सरुवा गरेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

विगत ५६ महिनादेखी विश्वविद्यालयका पदाधिकारीहरुलाई सरुवा सम्वन्धी मापदण्ड तथा कार्यविधि पास गरेर मात्रै सरुवा गर्नुपर्नेमा कार्यविधिविनै सरुवा गरेकाले तालाबन्दी गर्नुपर्ने परिस्थिति आएको प्रजातान्त्रिक कर्मचारी संघका अध्यक्ष भरत धमालाले जानकारी दिए ।

उनकाअनुसार सरुवा गर्न कार्यविधि बनाउन मौखिक रुपमा पटक पटक सल्लाह तथा सुझाव दिएको तर रजिष्ट्रारले सरुवाको अधिकार रजिष्ट्रारको मात्रै भएको भन्दै गैर जिम्मेवारपूर्ण अभिव्यक्ती दिएका छन् । विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण, दरवन्दी स्वीकृत र सरुवा सम्बन्धी कुनै मापदण्ड तथा कार्यविधि नै नबनाई यहीँ साउन ९ गते सरुवा गरिएको छ ।

रजिष्ट्रार शोभाखर कँडेलले यहीँ साउन १६ गतेदेखी लागु हुनेगरी भएको सरुवा प्रति घोर असहमति संघ संगठनले विज्ञप्तीमा उल्लेख गरेका छन् । ‘रजिष्ट्रार कँडेललाई आवश्यक सम्पर्क गर्न खोज्दा कार्यकक्षमा पनि नभेटाएको र उहांको दुवै मोवाईल नम्बरमासमेत सम्पर्क नभएकाले विश्वविद्यालयमा क्रियाशिल सम्पुर्ण कर्मचारी संघसंगठन उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका छौ,’ विज्ञप्तीमा भनिएको छ, ‘हचुवाको भरमा विभेदपुर्ण तवरले गरिएको सरुवा रद्द गरी सरुवा सम्बन्धी मापदण्ड तथा कार्यविधी पास गरी मात्र सरुवा नगरुन्जेलसम्म तालाबन्दी यथावथ रहनेछ ।’

कर्मचारीको विषयमा गम्भिरता साथ समस्या समाधान नगरे थप चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया