एनआइएमबी बैंक विरूद्ध उत्रियाे भ्यालुयर्स एशोसिएसन, सुर्खेतमा पनि धितो मुल्यांकन नगर्ने

सुर्खेत । चल अचल सम्पत्ति मुल्यांकनकर्ताहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंकसँग गर्दै आएकाे बैंकिङ मुल्याकन नगर्ने भएकाे छ । बैंकका देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य बन्द  र काम जुन अवस्थामा छ त्यही अवस्थामा पुर्ण रुपमा राेकेकाे हाे ।



बैंकहरुले दिएको दुख लगायत एनभिएका सदस्यहरुलाई परेका समस्याका कारण सम्पुर्ण धितो मुल्यांकनकाे काम नगर्ने निर्णय गरेकाे नेपाल भ्यालुयर्स एशोसिएसन कर्णालीका सचिव इ. सागर लम्सालले जानकारी दिए ।

नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसिएसन बीच भएको सर्भिस ड्राफ्ट एग्रिमेन्ट फम्र्याट तत्काल पुर्ण रुपमा कार्यान्वयन गर्न एनआइएमबी बैंकसँग माग गरेको उनले बताए । घर जग्गाको मुल्य र मुल्यांकन घटेकै आधारमा मूल्यांकनकर्ता इन्जिनियरहरुमाथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता लिनु पर्ने उनले जानकारी दिए ।

धेरै मूल्यांकनकर्ता इन्जिनियरहरु सुचिकृत गर्ने तर काम नदिने परिपाटीको तुरुन्त अन्त्य गर्नुपर्ने माग आफूहरूकाे भएकाे उनले बताए । त्यसैगरी, चक्रिय प्रणाली अन्तर्गत काम बाँडफाँड गर्न तथा न्युनतम मासिक रुपमा सुचिकृत मुल्यांकनकताहरुले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्न पनि एनभिएले माग अघि सारेको छ ।

त्यस्तै, एनभिएद्धारा जारी मुल्यांकन परामर्श सेवा शुल्क तत्काल लागु गर्न, राष्ट्र बैंकको निर्देशिका बमोजिम मुल्यांकनकर्ता इन्जिनियरहरुको काम,कर्तव्य अधिकार तथा उत्तरदायित्व अनिवार्य उल्लेख गरी मात्र मुल्यांकनकर्ताहरुसँग सम्झौता गर्न, मुल्यांकनकर्ताहरुलाई विभिन्न बहानामा काम नदिई निलम्बन गरेको कारवाही तत्काल फिर्ता गर्न एनआइएमबी बैंकलाई आग्रह गरिएको एनभिए कर्णालीले जनाएकाे छ ।

विभिन्न बैंक वित्तिय संस्थाहरुले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई दुख दिइरहेको अवस्थामा पछिल्लो समय एनआइएमबी बैंकले नेपाल बैंकर एशोसिएशन (एनबिए) र नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) बीच भएको सम्झौतानुसार काम नगरेको र अधिकांश इन्जिनियरहरुलाई कालोसूचीको पत्र काटेर तनाब दिएको उनले बताए।

३ सय भन्दा बढी इन्जिनियर स्टाण्डबाइ छन् भन्दै स्वतन्त्र मुल्यांकनकर्ता इन्जिनियरहरुलाई हेप्ने गरेको, इन्जिनियरहरुलाई धम्काउने, होच्याउने काम गरेको, मुल्यांकनकर्ता इन्जिनियरहरु भन्दा बाहिरका इन्जिनियरहरु ल्याएर काम गराउछु भन्दै सम्झौता विपरित निराशाजन्य अभिव्यक्ति दिने गरेकाले मुल्यांकनकर्ता इन्जिनियरहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया