सुर्खेतमा एक वर्षकाे अवधिमा ४२३ सवारी दुर्घटना, ३८ जनाको मृत्यु

सुर्खेत । पछिल्लो एक वर्षमा सुर्खेत जिल्ला भर चार सय २३ सवारी दुर्घटनामा परि ३८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २९ जना पुरूष, १२ जना चालक, ६ जना महिला, तीन बालिका र एक बालक रहेका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर भएका सवारी दुर्घटनामा ९३६ जना घाईते भएका छन् ।



फायल तस्वीर ।

आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत वर्ष सवारी दुर्घटनामा कमी आएको छ । २०८०/०८१ मा जिल्लाभर ६७३ वटा सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।

सोही वर्ष भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु र एक हजार १८४ जना घाईते भएको उनले बताए । ‘जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी दुर्घटना न्यूनीकरणमा कडाइ गरेपछि सवारी दुर्घटनाको दरमा केही कमी आएको छ,’ उनले भने, ‘सडक दुर्घटना न्यूनिकरणमा प्रहरी एक्लैले मात्रै नसक्ने भएकाले सबै पक्षले सहयोग गरेमा केही हदसम्म अझै दुर्घटना रोक्न सकिन्छ ।’

गत वर्ष कार्यालयले दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यसबाट १ लाख १३ हजार १०२ सवारी चालक, सह–चालक र पैदल यात्रीहरू लाभान्वित भएको सुनार बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्यूनीकरण गर्नका लागि क्याम्पस, विद्यालय, पैदल यात्री , चालक, सह–चालक, सवारी धनी लक्षित दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेको, लागूपदार्थ सेवन र मापसे चेकजाँचमा कडाई, राडर गनको प्रयोग गरी गति नियन्त्रण गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार आठ सय ४२ सवारी साधनहरूलाई कारबाही गरी एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन कार्यालयले गरेको थियो ।

तर गत वर्ष १७ हजार एक सय ५१ सवारी साधनहरूलाई कारबाही गर्दा एक करोड ४५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो विगतको वर्षको तुलनामा २९ लाख १५ हजार पाँच रुपैयाँ बढी राजश्व रहेको प्रमुख सुनारले जानकारी दिए ।

कारबाहीमा परेका सवारी साधन मध्ये ६ हजार सात सय ५० मोटरसाईकल, जिप, कार, भ्यान तीन हजार ७२, ट्रक–टिपर दुई हजार आठ सय ६१, अटो टेम्पो दुई हजार २५, बस तथा मिनी बस एक हजार ६१४ र आठ सय २९ ट्याक्टर छन् ।

मोटर साईकलबाट ५४ लाख २६ हजार, जिप, कार, भ्यानबाट २३ लाख ४६ हजार पाँच, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार पाँच, बस तथा मिनी बस १४ लाख ४४ हजार पाँच सय र ट्याक्टरबाट ६ लाख १३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको सुनारले बताए ।

बिभिन्न निकायहरूसंग समन्वयमा गरी आठ सय ८६ वटा रोड फर्निचरहरू राखेको छ । ओभर लोड नियन्त्रण गर्न दुई सय ६ वटा अतिरिक्त सिट निकालेको र मोडिफाई गरी चर्को आवाजमा चलाउने ८४ वटा सवारी साधन नियन्त्रण गरी कार्बाहीको दायरामा ल्याएको ट्राफिक कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया