
सुर्खेत । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको हायस गाडी दुर्घटना भएको छ । बिहीबार दिउँसो सल्यानको कुमाख गाउँपालिका– २ नेटानजिकै भे।१ख ३९९६ नम्बरको हायस दुर्घटना भएको हो ।
नेटानजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको उद्धार कार्यमा रहेका यात्री ओम केसीले जानकारी दिए । उनका अनुसार गाडीचालक पारस आचार्यसहित करिब एक दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको खबरलगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाइएको बताए । दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको छ । अहिले स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।


नेपाल कर्म । ८ श्रावण २०८२, बिहीबार १५:३२