
सुर्खेत । दुध, अण्डा र माछा उत्पादनमा कर्णाली प्रदेश पुछारमा देखिएको छ । देशभरका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा दुध, अण्डा र माछा उत्पादनमा पुछारमा देखिएको हो ।
नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन (एकीकृत) अर्ध–वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१÷८२ अनुसार कर्णाली प्रदेश पुछारमा देखिएको छ ।
दूध उत्पादनको बागमती प्रदेशमा सबैभन्दा बढी ४३.९७ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १.७४ प्रतिशत रहेको छ । मासु उत्पादनमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २७.०३ प्रतिशत हुँदा कर्णाली प्रदेशमा सबैभन्दा कम ५.३७ प्रतिशत रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख रहेको छ ।
अण्डा उत्पादनमा बागमती प्रदेशमा सबैभन्दा बढी ५०.०७ प्रतिशत, कर्णाली प्रदेशमा हिस्सा सबैभन्दा कम १.६४ प्रतिशत रहेको छ । यसैगरी, माछा उत्पादनमा मधेश प्रदेशमा सबैभन्दा बढी ३९.४५ प्रतिशत र कर्णाली प्रदेशमा हिस्सा सबैभन्दा कम ०.२७ प्रतिशत रहेको छ ।
सिञ्चित भूमीमा पनि कमी
देशभरमा कुल सिञ्चित क्षेत्रफल २.१३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा कुल सिञ्चित क्षेत्रफल २.०४ प्रतिशतले बढेको थियो । कुल खेतीयोग्य भू–भागमध्ये ३६.८३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । देशको कुल खेतीयोग्य क्षेत्रफलमा कोशी प्रदेशमा सबैभन्दा बढी २१.०४ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ६.३१ प्रतिशत रहेको छ ।
देशको कुल सिञ्चित क्षेत्रफलमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २४.४५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ४.२७ प्रतिशत रहेको छ ।

कृषि कर्जामा पनि कमी
कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६९ अर्ब ३६ करोड कर्जा पशुपालन शीर्षकमा प्रवाह भएको छ भने सबैभन्दा कम सुर्तीमा २४ करोड १४ लाख प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६.६६ प्रतिशत, मधेश प्रदेशको अंश १८.९२ प्रतिशत, बागमती प्रदेशको अंश ३५.१६ प्रतिशत, गण्डकी प्रदेशको अंश ७.६२ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १५.३४ प्रतिशत, कर्णाली प्रदेशको अंश १.५१ प्रतिशत र सुदूर पश्चिम प्रदेशको अंश ४.७९ प्रतिशत रहेको छ ।


नेपाल कर्म । ३ श्रावण २०८२, शनिबार १३:५२