सुर्खेत । २०७५ पुसमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठुलो परिणाममा बहुमूल्य गहना सुन र चाँदी बरामद गर्यो । भारतको कर्नाटक राज्यको बैंगलोरस्थित एक घरबाट दुई किलोग्राम सुन चोरेर नेपाल छिरेका कालिकोटका मंगल शाही, उनकी श्रीमती शौभाग्य शाहीलाई सुर्खेत प्रहरीले पक्राउ गर्यो ।
उनीहरुले बैंगलोरको हर्मोचोकस्थित होटल व्यवसायी प्रविणकुमारको घरबाट तीन किलोग्राम बढीका बहुमूल्य सुन तथा चाँदीका गहना चोरेर नेपाल फर्किएका थिए । उक्त घटनामा अन्य दुई जनासमेत संलग्न थिए । सुन चोरेर नेपाल भागेका शाही दम्पत्तिलाई खोज्नेक्रममा भारतीय प्रहरी तीन दिनसम्म सुर्खेतमा बसेको थियो ।

सुन चोरीपछि शाही दम्पत्तीका नजिकका नातेदारलाई पक्राउ गरी भारतीय प्रहरीले निकै यातना दियो । ति आफन्तको सुराकपछि नेपाल आएको भारतीय प्रहरीले सुर्खेत प्रहरीलाई दिएको सूचनाका आधारमा मंगल शाहीलाई कालिकोटको नरहरिनाथ गाउँपालिका–९, स्थित उनकै घरबाट र उनकी श्रीमतीलाई वीरेन्द्रनगर–१०, पदमपुरबाट पक्राउ गरिएको थियो ।

२०७६ मा बर्दीधारी तीन भारती प्रहरी दैलेख पुगे । भारतको हरियाणा राज्यबाट एक जना सहायक नीरिक्षक (सई)को कमाण्डमा एक हवल्दार र एक सिपाहीसहित तीन जना बर्दीधारी भारतीय प्रहरी दैलेख सदरमुकाम पुगेका थिए ।
बर्दीधारी प्रहरी दैलेख बजारमा निस्केपछि जिल्ला प्रहरी कार्यालय दैलेखले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो । सोधपुछका क्रममा उनीहरुले भारतमा खानामा विष मिलाएर बुहमूल्य गहना चोरी गरेर नेपाल छिरेका एक व्यक्तिको फोटो र ठेगाना बोकेर दैलेख आएको बताएका थिए ।
यस घटनामा पनि भारतीय प्रहरीले ति व्यक्तिसँग चिनजान भएकै आधारमा अर्का एक निर्दोष व्यक्तिलाई महिनौ टचर दिएर दैलेख पु¥याएको थियो । ३० जेठ २०८२ मा काठमाण्डौं प्रहरीले भारतीय प्रहरीका डीएसपीसहितको टोलीलाई नियन्त्रणमा लियो ।
हैदराबाद प्रहरीका डीएसपी जसवन्तसहित चार जनाको समूहलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु पनि हैदराबादको एक चोरीमा संलग्न नेपालीलाई खोज्दै नेपाल प्रवेश गरेका थिए । प्रहरी स्रोतका अनुसार चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन उनीहरु बैशाखको दोस्रो साता दैलेखको आठबिस नगरपालिका–७, राकम कर्णालीसमेत पुगेका थिए ।
दैलखका लोकेन्द्र शाहीसहित कालिकोट र अछामका युवाको समूहले बैशाख पहिलो साता हैदराबादस्थित एक घरबाट चार करोड बढी मूल्य बराबरको बहुमूल्य गहना सुन र हिरा चोरेको आरोपमा भारतीय प्रहरी दैलेख पुगेको थियो ।
स्थानीयसँग आवश्यक सोधपुछ गरेको भारतीय प्रहरीले लोकेन्द्रलाई फेला नपारेपछि काठमाण्डौं पुगेको थियो । यस पटक पनि अभियूक्त भनिएका लोकेन्द्र खोज्न चिनेकै आधारमा दुई जनालाई नियन्त्रणमा लिई सुराकी बनाएर भातीय प्रहरी नेपाल छिरेको थियो ।
उनीहरुको सूचनाको आधारमा दैलेखमा अभियूक्त लोकेन्द्र नभेटिएपछि उनी निकट प्रशान्त शाहीलाई नियन्त्रणमा लिन भारतीय प्रहरी काठमाण्डौं पुग्यो । प्रशान्तलाई नियन्त्रणमा लिएपछि भारतीय प्रहरीले लोकेन्द्र सुर्खेतमा रहेको सूचना पायो ।
सोही सूचनाका आधारमा प्रशान्तलाई लिएर सुर्खेत हिँडेको भारतीय प्रहरीको टोलीलाई स्वयम्भु प्रहरीले गोलढुंगाबाट नियन्त्रणमा लिएको थियो । यस्तै, केही महिना यता भारतीय प्रहरीको विशेष टोलीले ३५ बढी नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
भारतको बैंगलोरमा भएको चोरीको घटनालाई लिएर उनीहरुलाई हिरासतमा यातना दिएर राखिएको जनाइएको छ । उक्त घटनाका आरोपितलाई समाउन भारतीय प्रहरीको विशेष टोली नेपाल आउजाउ गरिरहेको छ ।
यस घटनामा पनि आफन्त भएकै कारण भारतीय प्रहरीले एक निर्दोष नेपालीलाई मोहोडा बनाएर सुराकीको रुपमा प्रयोग गरिरहेको छ । भारतको कर्नाटक राज्यको बैंगलोरस्थित व्यवसायी एवम् कर्नाटक राज्यका विद्यायकसमेत रहेका एस रमेश बाबुको घरमा चोरी भएको घटनामा भारतीय प्रहरीले निर्दोष नेपालीलाई दुख दिइरहेको छ ।
२८ मेमा एस रमेश बाबुको घरमा काम गर्ने नेपाली कामदार कालीकोटको नरहरीनाथ गाउँपालिका–२ का यज्ञ विष्टसमेतले रमेशको घरमा राखिएका १० किलोभन्दा बढी बहुमूल्य गरगहना र नगद रुपियाँ चोरी गरेर नेपाल छिरेका थिए ।
घटनामा संलग्न भएको भन्दै कैलाली प्रहरीको सम्पर्कमा गएको भारतीय प्रहरीको सूचनाका आधारमा दुई जना प्रक्राउसमते परेका छन् । भारतीय प्रहरीको सूचनापछि अनुसन्धान थालेको कैलाली प्रहरीले कालिकोटको नरहरीनाथ गाउँपालिका–२, का उदय विष्ट र भैरे विष्टलाई पक्राउ गरेको थियो ।
प्रहरीको अनुसन्धानपछि उनीहरुले आफ्नो भागमा परेको सुन लगायतका गहना कैलालीको लम्कीचुहा–१, बस्ने पदम सुनारलाई बेचेको खुलेको थियो । उक्त घटनामा सुनारसमेत पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट सुनको चुरा नौ थान, सुनजस्तो देखिने वस्तु चार सय ६४ ग्राम, सुनका टुक्रा २३ थान, दुई सय १६ ग्राम सुनका र चार सय ग्राम चाँदीका विभिन्न गरगहना बरामद गरी धनी एस रमेश बाबुलाई फिर्ता गरेको छ ।
यस्तै, ४४ हजार भारतीय, १२ लाख ९२ हजार नेपाली र अन्य विदेशी मुद्रा १५ हजार रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ । मुख्य अभियूक्त नरहरीनाथ गाउँपालिका–१, का यज्ञ विष्टलाई खोज्न चिनजान भएकै कारण एक आफन्तलाई लिएर भारतीय प्रहरीले छान मारिरहेको छ ।
उल्लेखित घटना पछिल्लो समय रोजगारीका लागि भारत जाने र रोजगारदातालाई विश्वासमा लिएर उनीहरुको सम्पत्ती चोरेर नेपाल छिर्ने बदमासका कारण भारतमा नेपालीको छबि धुमलिदै गएका उदाहरण हुन् ।
रोजगारीको सिलशिलामा भारतका विभिन्न सहरहरुमा जाने र रोजगारदातालाई विश्वासमा पारेर उनीहरुको सम्पत्ती उठाएर नेपाल छिर्ने युवाहरुका कारण भारतमा नेपालीको छबि धुमलिदै मात्र गएको छैन ।
यसले रोजगारीका लागि उपयुक्त मानिएका भारतीय प्रमुख सहरहरुमा नेपालीहरुलाई दीर्घकालिन रुपमै बन्देज लाग्न सक्ने जोखिम निम्त्याएको छ । यति मात्रै होइन उनीहरुकै कारण रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका सोझा नेपालीले भारतीय प्रहरीको ज्यादती भोग्न बाध्य भइरहेका छन् ।
विशेष गरी पछिल्लो समय कर्णाली तथा सुदुरपश्चिम प्रदेशका युवाहरुको प्रमुख रोजगारीको गन्तव्य भारतको कर्नाटक राज्यस्थित बैंगलोर र तेलङ्गगना राज्यको हैदराबाद, हरियाणा लगायतका सहर बनेका छन् ।
होटल तथा घरेलु कामदारको माग उच्च रहेका यी सहर नेपालीका लागि दिल्ली र मुम्बईपछि रोजगारीका मुख्य गतव्य हुन् । विगतमा भारतको मुम्बई र नयाँ दिल्ली प्रमुख गन्त्वय हुने यहाँका युवाहरु पछिल्लो सयम परिवारसहित यी सहरमा जानेक्रम बढ्दै गएको छ ।
तर रोजगारी गर्न जाने सोझासाझा नेपाली भने पछिल्लो समय बदनियत भएका युवाका कारण कुकुरले नपाएको दुख पाइरहेका छन् । बैंगलोरमा कामको खोजीमा जाने युवाहरु बढेसँगै चोरी र गलत मनासाय लिएर त्यहाँ पुग्ने युवाका कारण सोझासाझाले भारतीय प्रहरीबाट अनावश्यक झमेला व्यहोर्नु परेको अछामका रामबहादुर विक बताउँछन् ।
उनी १२ वर्षदेखि बैंगलोरमा रोजगारी गर्दै आएका छन् । ‘विगतमा बदमासहरुले दिल्ली र मुम्बईमा पनि यस्तै चोरी बदमासीका काम गर्दा साधारण नेपालीले निकै दुख पाउने गरेका थिए,’ उनले भने, ‘अहिले दिल्ली, मुम्बईको जस्तै नेपालका चोरहरु बैंगलोर प्रवेश गरेपछि दैनिक जसो सोझासाझाले दुख पाउनेक्रम बढेको छ ।’
सुरुमा साहुँको विश्वास जित्ने र योजनावद्ध तरिकाले सम्पत्ती चोरेर नेपाल फर्किने चोर युवाका कारण बैंगलोरबाट लखेटिने अवस्था सिर्जना भएको उनले बताए । उनका अनुसार घेरलु कामदारका रुपमा जाने नयाँ मान्छेलाई चोरीकै भयले हत्तपत्त काम पाईदैन ।
चोरीमा संलग्न व्यक्तिसँग सामान्य चिनजान भएको अवस्थामा पनि उनीहरुका बारेमा सुराक दिन भारतीय प्रहरीले निकै शारिरिक यातनासँगै दुख दिने गरेको उनी बताउँछन् । उनका अनुसार चोरी गर्ने नेपालीकै कारण सोझासाझाले रोजगारी नै छाड्नुपर्नेसम्मको जोखिम मोल्नुपर्ने उनले बताए ।
‘नेपालमा हामीले गर्ने जस्तो रोजगार छैन । यहाँ होटल तथा घरायसी काम गरेर परिवार पाल्न सहज छ । तर चोरहरुको गल्लिपच्छिे बिगबिगीले सदाका लागि रोजगारी बन्द हुने चिन्ता थपिएको छ,’ उनले भने ।
भारतमा हुने चोरीमा दैलेख, कालिकोट र अछाम जिल्ला युवाहरु बढी संलग्न हुँदै आएका छन् । भारतमा चोरी गर्ने कार्यमा संलग्न हुनेलाई नेपालमा कारवाही हुने कुनै व्यवस्था छैन ।
अर्कोतर्फ चोरीमा संलग्न भएकाहरु नेपाल प्रवेश गरिसकेपछि नेपालको कानूनले उनीहरुलाई भारत लैजान दिदैन । यसकारण पनि तिनै व्यक्तिहरुबाट बारम्बार चोरीका घटना दोहोरिदै जादा यसले दीर्घकालिन रुपमा नेपाल–भारत सम्बन्धमै ठुलो असर पुर्याउने सरोकारवालाहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्तासमेत रहेको प्रहरी नायव उपरीक्षक मोहनजंग थापाले भारतबाट चोरी वा लुटपाट भएको जानकारी आए गृहमन्त्रालय वा राजदुतावासमार्फत सामग्री फिर्ता हुने तर संलग्न व्यक्तिमाथि कानूनीरुपमा कुनै कारवाही नुहने बताए ।

नेपाल कर्म । १ श्रावण २०८२, बिहीबार १८:५०