कर्णालीमा पर्यटकको आगमन बढ्यो


सुर्खेत । कर्णालीमा पर्यटकको आगमन संख्यामा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार कर्णालीमा पर्यटक आगमनमा बृद्धि भएको हो ।



आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि पुससम्ममा पाँच लाख ७९ हजार नौ सय ४३ जना पर्यटकको आगमन भएको छ । कर्णाली प्रदेशस्थित नमूना छनौटमा परेका होटलहरूबाट प्राप्त तथ्याङ्कको आधारमा समग्र कर्णाली प्रदेशको होटल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषण गरिएको हो ।

समीक्षा अवधिमा कर्णाली प्रदेशका होटलहरुको शैया संख्यामा कुनै परिवर्तन भएको छैन । समीक्षा अवधिमा प्रदेशमा होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा १०.३० प्रतिशतले वृद्घि भएको देखिन्छ । गत अवधिमा सो व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ३.७७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा यस प्रदेशमा समग्रमा पर्यटन आगमन संख्या गत अवधिको तुलनामा ११.०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत अवधिमा ८.६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा १२.८२ प्रतिशतले वृद्धि भएको छ ।

गत अवधिमा १४.४० प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा ३.६९ प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशमा समीक्षा अवधिमा तेस्रो मुलुकबाट आउने पर्यटकहरुको संख्या १३.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

गत अवधिमा भने २२.० प्रतिशतले घटेको थियो ।

तपाईको प्रतिक्रिया