वीरेन्द्रचाेकमा ट्राफिक बत्ती सञ्चालन, मंगलगढी र यरिचोकमा निर्माण थालिदै

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरका मुख्य चौकहरुमा ट्राफिक बत्ती जडानको कार्य सुभारम्भ गरेको हो । जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६, स्थित मुख्य बजार क्षेत्र वीरेन्द्र चौकबाट ट्राफिक बत्ती जडान गरेर सञ्चालनमा ल्याएको छ ।




आवश्यक प्राविधिक परीक्षण पश्चात जडान गरिएका बत्ती नगर प्रमुख मोहनमाया ढकालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारलाई बुधबार हस्तान्तरण गरेकी हुन् ।

चालू आर्थिक वर्ष २०८१-०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वीरेन्द्र चौकमा ट्राफिक बत्ती जडान गर्न नगरपालिकाले ३० लाख रूपैयाँ बजेट व्यवस्थापन गरेको थियो ।

इ थ्री सेल्स एण्ड सर्भिसेज प्रालि काठमाण्डौंले २४ लाख ७५ हजार पाँच सय ८० रुपैयाँमा ठेक्का लिएर निर्माण गरेको हो । वीरेन्द्र चौकमा ट्राफिक बत्ती जडान भइ सकेको छ भने, अन्य चौकहरुमा जडान गर्ने तयारी छ ।

जसमा पैदल यात्रु तथा सवारी चाप बढी हुने रत्न राजमार्ग अन्तर्गत यरिचोक, मंगलगढी चौक, एयरपोर्ट चौकमा सडक विभाग र मुलपानी चौक, दैलेख रोड चौक लगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्नेछ । ट्राफिक बत्ती जडान भएसँगै अब सवारीले मात्रै होइन यात्रुलेसमेत जथाभावी बाटो काट्न पाउने छैनन् ।

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरु अवलम्बन गर्न लागिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

‘राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाईट, आईटी जोन जस्ता शहरी पूर्वाधार निर्माणका लागि १२ करोड विनियोजन गरेका छौं,’ ढकालले भनिन्, ‘नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्वोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट व्यवस्थापन भएको छ ।’

नगरप्रमुख ढकालले उपत्यकाका विभिन्न स्थानमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै झण्डै तीन सय बढी सीसी क्यामेरा जडान गर्न लागिएको बताइन ।

‘उपत्यकाका विभिन्न क्षेत्रमा मानिसहरुको चहलपहल बढी हुने स्थानमा चोरी, डकैती तथा लुटपाट, सडक दुर्घटना लगायतका घटनाहरू बढ्दै गएको सन्दर्भमा यसलाई रोक्न संवेदनशिल क्षेत्र पहिचान गरी तीन सय थान सीसी टिभी क्यामेरा जडान गर्ने तयारी गरेका छौं । यसअघि जडान भएका तर बिग्रिएका क्यामेरा पनि मर्मत गर्ने तयारी छ,’ नगर प्रमुख ढकालले भनिन् । यसका लागि नेपाल टेलिकमसँग सहकार्य गर्न लागिएको उनले बताइन ।

एक वर्षभित्र नगर बस, मंगलगढीमा आकाशे पुल
नगरपालिकाले आगामी २०८३ असारसम्म यात्रु र सवारीको उच्च चाप हुने मंगलगढी चौकमा आकाशे पुल निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन लागेको छ । नगर प्रमुख ढकालका अनुसार आगामी वर्ष रत्न राजमार्गमा भईरहने दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्न मंगलगढी चौकमा आकाशे पुल निर्माण सम्पन्न हुनेछ ।

यसका लागि दुई करोड बजेट व्यवस्थापन भई ठेक्का प्रक्रिया अघि बढाइएकाे उनले बताइन । उनका अनुसार दोस्रो चरणमा यरीचौक, पीपिरा चौक लगायतका स्थानमा आकाशे पुल निर्माणलाई निरन्तरता दिईनेछ ।

उनले नगरको यातायातलाई भरपर्दो र सर्वसुलभ बनाउन आगामी वर्षमा नगर बस खरिद गरि संचालन गर्न दुई करोड बजेट व्यवस्थापनसमेत भएको बताइन । आगामी वर्ष नगरपालिकाले उक्त बजेटबाट आफ्नै नगर बस खरिद गरेर सञ्चालनमा ल्याउन लागिएको योजना ढकालले सुनाईन ।

वीरेन्द्रनगरको नगर गौरवको आयोजना घण्टाघर पार्क निर्माण, घण्टाघर दक्षिणतर्फ पार्क तथा पार्किङ निर्माण, गोदामलाईनमा पार्किङ निर्माण तथा फुटपाथ व्यवस्थापन कार्य आगामी बर्षमा सम्पन्न गरी पर्यटन पूर्वाधार तथा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने योजना नगरपालिकाको छ ।

वीरेन्द्रनगर प्रदेशको राजधानी भएसँगै बढ्दो जनघनत्व र सवारी चापका कारण अधिकांश क्षेत्रका सडक पार गर्न पैदल यात्रुलाई जोखिम मोल्नुपर्ने बाध्यता छ । ट्राफिक लाइटसँगै आकाशे पुल निर्माण गरिए वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन चुस्त हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया