सुर्खेत । जिल्ला वन कार्यालय जाजरकोटका वन अधिकृत अमरप्रसाद साह कुटिएको घटनाको कर्मचारी संघ संगठनले आपत्ती जनाएका छन् । क्रियाशिल राष्ट्रियस्तरका ट्रेड युनियनहरुले सयुक्त विज्ञप्ती जारी गर्दै कार्य कक्षमै पुगेर साहमाथि हातपात गर्ने समूहलाई कानुनी दायरामा ल्याइ कारवाहीको माग गरिएको हो ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी युनियन कर्णाली प्रदेश कार्यसमितिले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै भनिएको छ, ‘कार्यकक्षमा काम गरिरहेको अवस्थामा अज्ञात समूह प्रवेश गरी कार्यालय समयमा सांघातिक आक्रमण गरेको घटनाप्रति दुःख व्यक्त गर्दछौं ।’
जुनसुकै विवाद र समस्याको समाधान वार्ता, सम्वाद र सामुहिक सौदावाजीको माध्यमबाट निकाल्न सकिन्छ तर कामकारवाहीमा चित्त नबुझे कानूनी उपचारको व्यवस्था रहँदासमेत कार्यकक्षमै पुगेर कुटपिट गर्नु गलत हर्कत भएको नेपाल निजामति कर्मचारी संगठन कर्णालीका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।

उनले कार्यस्थलमा सेवा प्रवाह गरिरहेका कर्मचारीमाथि हुने यस्ता अमानवीय र गैर कानूनी घटनाको निन्दा गरेका छन् । कार्यालयको काममा खटिएको कर्मचारीमाथि धम्की दिने, कुटपिट गर्ने र अभद्र व्यवहार गर्नेहरुलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न माग उनले गरेका छन् ।

राष्ट्रसेवक कर्मचारीमाथि हुने यस प्रकारका घटनाले सेवा प्रवाहमा असर पर्नुका साथै उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहने भएकाले यस प्रकारका गतिविधिहरुलाई निरुत्साहित गर्दै कर्मचारीहरुले सेवा प्रवाह गर्ने कार्यस्थलको सुरक्षाको प्रत्याभूत गराउन राष्ट्रियस्तरका ट्रेड युनियनहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
असार २२ गते दिउँसाे कार्यालयमा काम गरिरहेकाे अवस्थामा चार जनाकाे समूहकाे साहलाइ कुटपिट गरेका थिए । घटना लगत्तै उनीहरू फरार छन् । प्रहरीले खाेजी जारी राखेपनि हालसम्म पक्राउ परेका छैनन् । साह कुटिनुकाे कारण खुलेकाे छैन् ।


नेपाल कर्म । २४ असार २०८२, मंगलवार ०९:०७